अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले १० वटा सुरक्षा पोष्ट हटाउदैँ

सिओल । दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ–मूले कोरियाली सीमाक्षेत्रमा रहेका दशवटा सुरक्षा पोष्ट परीक्षणका रुपमा हटाउने बताएका छन् । गत अप्रिलमा अन्तर–कोरियाली शिखर बैठकमा भएको असैनिक क्षेत्रलाई “शान्ति क्षेत्र” का रुपमा रुपान्तरण गर्ने सहमति बमोजिम यो कदम चालिएको मन्त्री सोङले बताए ।

दुवै मुलुकबीच रहेको सैनिक तनाब कम गर्ने र विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यसहित एक उपायका अघि सारिएको यो कार्यक्रमको समयतालिका भने सार्वजनिक गरिएको छैन । दुई कोरियालाई छुट्याउने मध्यवर्ती क्षेत्रमा उत्तर कोरियाका तर्फबाट पनि यस्तै कदम चालिने अपेक्षा दक्षिणको छ ।

“हामी एक वा दुईवटा सुरक्षा पोष्ट तत्कालै हटाउँछौं, र त्यसपछि बाँकी हटाउँछौं,” संसदको प्रतिरक्षा समितिमा सोङले जानकारी गराए ।

“दक्षिणले स्थापना गरेका सबैभन्दा नजिकका पोष्टहरु सीमाबाट ७०० मिटर भित्र छन् । हामी एक किलोमिटर भित्रका पोष्टहरु हटाउने तयारीमा छौं,” मन्त्री सोङले भने ।

गत महिना उच्च सैनिक नेतृत्वबीच भएको छलफलका क्रममा असैनिक क्षेत्रमा शान्तिपूर्ण अवस्था निर्माण गर्ने सहमति भएको थियो । उनीहरुबीच सुरक्षा पोष्टहरु हटाउँदै लैजाने, संयुक्त सुरक्षा क्षेत्रबाट हातहतियार हटाउने र विगतमा निधन भएका सैनिकको खोजी गर्ने पनि सहमति भएको थियो ।

सिओल र प्योङयाङले पछिल्ला समयमा धेरैवटा विश्वास निर्माणका उपायहरु अख्तियार गरेका छन् । दुबै मुलुकबीच अहिले सैनिक सञ्चार च्यानल पूर्ण रुपमा खुला गरिएको छ ।