अन्तर्राष्ट्रिय

अमेरिकालाई च्यालेन्ज गर्ने यस्तो छ इरानको पहिलो लडाकू बिमान !

तेहरान । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ ।

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू बिमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो बिमान सत प्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो बिमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ । यो बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताउनुभयो । इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे ।

“हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैं सक्षम हुनु पर्दछ भन्ने कुरा सिक्यौं । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबूत बनाउन हामी प्रतिबद्ध छौं” उनले भने ।

अमेरिकाले अबौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिआएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।