राजनीति

ठाकुर भन्छन्ः टीकापुर घटनालाई आपराधिक दृष्टिकोणले नहेरौँ

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका केन्द्रीय संयोजक महन्थ ठाकुरले टीकापुर घटना राजनीतिक कारणले भएकाले यसलाई केबल आपराधिक दृष्टिकोणले मात्र हेर्न नहुने बताएका छन् ।

टीकापुर घटनाका अभियुक्तलाई आज कैलाली कारागारमै भेट गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक ठाकुरले टीकापुरलगायत घटनाका मुद्दाका विषयमा सरकारसँग कुरा भइरहेको बताए ।

उनले एक छुट्टै प्रसङ्गमा देशमा अझै पनि आदिवासी, जनजाति, दलित, पिछडिएका समुदायले राखेका माग र संविधान संशोधनका मुद्दा सम्बोधन हुन नसकेको बताए ।

चुनावपछि बढेको जनताको अकाङ्क्षा पूरा हुन नसकेको बताउँदै संयोजक ठाकुरले सरकारको काममा शिथिलता देखिएको आरोप लगाए ।