अन्तर्राष्ट्रिय

तीन यात्रुवाहक बस आतङ्ककारीद्वारा अपहरणमा

कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतङ्ककारी समूहले सोमबार तीन ओटा यात्रुवाहक बस अपहरण गरेका छन् । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्रु परेका जिल्ला गभर्नर हयातुल्ललाह आमिरीले बताएका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ४ बजे बसमा चढेका गाउँलेहरुलाई तालिबानले नियन्त्रणमा लिएको आमिरीले जानकारी दिनु भएको छ । अपहरणमा परेका ती यात्रुलाई सुरक्षित मुक्त गराउन सुरक्षाफौजले कारबाही सुरु गरेको छ ।

अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले तीन महिनाको सःशर्त युद्धविरामको एकतर्फी घोषणा गर्नुभएको एक दिनपछि नै यो अपहरण भएको हो । मुस्लिम समुदायको महान चाड ईदका अवसरमा राष्ट्रपति घानीले घोषणा गर्नुभएको युद्धविराम सोमबारदेखि नै लागू हुने योजना थियो ।

सरकारले घोषणा गरेको यस युद्धविरामका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । –एजेन्सी