अन्तर्राष्ट्रिय

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छन् ।

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन ।

“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।

गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन ।

उनको ग्रीन पार्टीकी एकजना प्रवक्ताले सोमबार साँझसम्म उहाँको बच्चा जन्मिएको छैन, तर उन प्रतिक्षारत छिन् ।

यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिईन । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिईन । -एजेन्सीको सहयोगमा