अन्तर्राष्ट्रिय

८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान

सिओल । सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि सुरु भएको हो । सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन ।

उत्तर कोरियाको पूर्वी तटमा रहेको माउन्ट कुमगाङ रिसोर्टमा यो भेटघाटको व्यवस्था मिलाइएको छ । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय सहर सोक्चोबाट सोमबार बिहानै झण्डै ३० वटा बस कुमगाङतर्फ प्रस्थान गरेका छन् । यी बसमा बुढाबुढी सहित उनीहरुका सहयोगी गरी ३०० भन्दा बढी सहभागी छन् ।

केही अशक्त व्यक्तिहरु ह्वीलचेयरमा छन् वा अरु आफन्तको सहयोगमा त्यहाँ गएका छन् । आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई दिन उपहार पनि उनीहरुले साथमा लगेका छन् ।

उत्तर कोरिया प्रस्थान गर्नुअघि उनीहरु उत्साहित मुद्रामा बसमा चढेका थिए । “राति ९ बजे सुतेको म आज बिहान ३ बजे नै ब्युझिएँ,” एकजना ७० वर्षीय वयोवृद्ध शिन जोङ–हो ले भन्नुभयो । “मलाई कुनै किसिमको स्वास्थ्य समस्या छैन । सायद त्यहाँ पुग्दासम्म मलाई केही हुने छैन, र सहज रुपमा फर्कनेछु ।”

सोमबारको पुनर्मिलन कार्यक्रम स्थानीय समयअनुसार अपराह्न ३ बजेका लागि तोकिएको छ । उत्तर कोरियाली सरकारका तर्फबाट खानाको आयोजना गरिएको छ ।

दोस्रो दिन, उनीहरुले आफ्ना परिवारजनसँग दोस्रो पटक भेट गर्न पाउनेछन् र सँगै खाना खानेछन् । तीन दिन रहँदा उनीहरुले आफ्ना परिवारजनसँग छ पटक भेट्न पाउँछन् र यो करिब ११ घण्टाको अवधि हुनेछ । उनीहरु बुधबार फर्कनेछन् ।

दक्षिण कोरियालीहरु लगभग ७० र ८० वर्ष उमेरका छन् र एकजना सबैभन्दा बढी उमेर १०१ वर्षका छन् ।
धेरैजसो व्यक्तिहरु वृद्धवृद्धा रहेकाले बाबुआमा, छोराछोरीबीचको पुनर्मिलन भने त्यति सम्भव देखिन्न ।

सरकारले वृद्धवृद्धाको हेरचाह र कुनै जरुरी परेको अवस्थामा उपचार गर्नेगरी करिब ३० जनाको चिकित्सा टोली समेत सँगै पठाएको छ ।

गत अप्रिलमा दुबै कोरियाका नेताहरुबीचको शिखर बैठक पश्चात यस्तो पारिवारिक पुनर्मिलन सम्भव भएको हो । सन् २००० यता उत्तर र दक्षिण कोरियाबीचको प्रत्यक्ष वार्ता सुरु भएयता यो २० औं पुनर्मिलन कार्यक्रम हो ।

करिब ५७,००० दक्षिण कोरियालीहरु आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई भेट गर्न प्रतिक्षारत छन् । कोरियाली युद्ध सन् १९५३ मै समाप्त भएपनि दुवै कोरिया प्राविधिक रुपमा अद्यापि युद्धकै स्थितिमा रहेका छन् । –एजेन्सी