आर्थिक

प्राइम लाईफ र एनआइसीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकले प्राइमलाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १८२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५४ अर्ब तथा कर्जारू. १२७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।