आर्थिक

‘कर आतङ्क मच्चाएर सरकारले निमुखा जनताको ढाड सेक्दैँछ’

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले स्थानिय तहमा अचाक्ली रुपमा कर बढाईदा पनि केन्द्र सरकार उदासिनता देखाएको आरोप लगाएको छ । बुधबार गरिएको पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले वर्तमान सरकारले कर आतङ्क मच्चाएको आरोप लगाएको हो ।

‘बजार मूल्यमा चर्को बृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली बृद्धि गरिएको करले झनै ढाड सेक्ने अवस्था बनेको छ । नागरिकको यो पीडा जति गम्भीर छ, संघीय सरकारको यसप्रतिको उदाशिनता झनै दुःखद छ ।, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, जिम्मेवार नागरिकले कर तिर्नुपर्छ भन्ने सैद्धान्तिक कुरा गरिरहँदा त्यो कर न्यायोचित हुनुपर्छ भन्ने ब्यवहारिक पक्ष बिर्षन मिल्दैन । अतः नेपाली कांग्रेस तत्कालै उचित समाधानको पहल गर्न संघीय सरकारलाई सचेत गराउन चाहन्छ ।’

नेपाली कांग्रेसका तर्फबाट विजयी देशभरीका नगर प्रमुख र उपप्रमुखहरुसंग पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भाद्र ११ गते एकदिने ‘प्रशिक्षणात्मक अन्र्तक्रिया’ गरिने विज्ञप्तीमा जनाएको छ ।

सो कार्यक्रम यहि करको मुद्दाका अतिरिक्त निर्वाचित स्थानीय नेतृत्व र पार्टीबीचको समन्वय एवं अन्य विषयमा केन्द्रीत रहने बताईएको छ ।

यसैबीच, कांग्रेसले भदौँ १ गते देखि लागू भएको मुलुकी ऐनको परिमार्जित संहिताबारे पनि केही गम्भीर त्रुटी भएको उसको ठहर छ ।

‘नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा परिस्कृत भइ १ भदौ ०७५ बाट लागु भएको मुलुकी ऐन नेपालको आधुनिक राज्य व्यवस्थाका लागि महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो ।, विज्ञप्तीमा अगाडी भनिएको छ, पौने दुई सय वर्ष पुरानो मुलुकी ऐनलाई बदलिएको समाज अनुकूल परिमार्जन गर्न नेपाली कांग्रेसले गरेको नेतृत्व हाम्रा लागि गौरवपूर्ण छ तर अभ्यासमा आउनु पूर्व नै अनुभूत भइसकेका केही कमजोर प्रावधानलाई आवश्यक संशोधन गरेर मात्रै अघि बढ्ने सम्बन्धमा गम्भीर त्रुटी भएको हाम्रो ठहर छ ।’

फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानहरुमा संशोधन र सुधारको आवश्यकता रहेको कांग्रेसले औँल्याएको छ ।

यसैगरी चिकित्सकहरुको पेशागत मर्यादा एवं राज्यको प्रहरी प्रशासनलाई अपराध अनुसन्धानमा पर्न सक्ने असर र पेशा व्यवसायको स्वतन्त्रतालाई प्रभावित गर्ने विषयमा पनि कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ ।