आर्थिक

कारोबारमा रोक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं १७० र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५) को कारोबारमा रोक लगाइएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ ।

आठ प्रतिशत नगद लाभांश

यस्तै आइसिएफसि फाइनान्स लिमिटेडले आठ प्रतिशत नगद लाभांश दिने जानकारी स्टकलाई गराएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

स्वरोजगार लघुवित्तको २० प्रतिशत बोनस

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर दिने भएको छ । गत साउन ३१ गतेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको संस्थाले स्टकलाई जानकारी गराएको छ ।