पर्यटन/संस्कृति

गोसाइँकुण्ड जाने तीर्थयात्री अलपत्र

काठमाडौं । बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् ।

पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ ।

रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन् ।

सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ । गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ । बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन् ।