समाचार

त्रिचन्द्र कलेज, नेपाली विभागले प्रा डा. पराजुली सम्मानित

काठमाडौँ । त्रिचन्द्र कलेज, नेपाली विभागले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य प्रा डा. हरिप्रसाद पराजुलीलाई सम्मान गरेको छ ।

कलेज परिसरमा आयोजित समारोहमा प्रा डा. हिमांशु थापाले उनको विश्वविद्यालयको औपचारिक सेवाबाट बिदाइ एवं सम्मान गरे । त्रिवि सेवामा ३८ वर्ष रहँदा प्रा डा. पराजुलीले सहायक परीक्षा नियन्त्रक, नेपाली विभागको प्रमुख, क्याम्पस प्रमुख र त्रिवि कार्यकारी परिषद्को सदस्यको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।

समारोहमा प्रा डा. थापाले पछिल्लो समय शिक्षक र विद्यार्थीमा अनुशासन, नैतिकता र जिम्मेवारीमा देखिएको खडेरीले विश्वविद्यालयको गरिमा र शिक्षाको गुणस्तरमा प्रश्न चिह्न उठिरहेको धारणा व्यक्त गरे ।

सम्मानित व्यक्तित्व प्रा डा. पराजुलीले नेपाली शिक्षाको विकासमा ऐतिहासिक महत्व बोकेको त्रिचन्द्र कलेजलाई उच्च शिक्षाको लागि सम्मानित थलो बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै मानविकी तथा समाजशास्त्र सङ्कायमा विद्यार्थी भर्ना बढाउन नयाँ कार्यक्रम घोषणा गर्न आवश्यक रहेको सुझाव दिए ।

त्रिचन्द्र कलेज प्रमुख प्रा डा. प्रदीपबहादुर न्यौपाने र नेपाली विभागकी प्रमुख उपप्राध्यापक उषा अधिकारी पौडेलले प्रा डा. पराजुलीले विश्वविद्यालयको शिक्षाको उन्नयनमा पु¥याएको योगदानको विभिन्न पाटो र पक्षको चर्चा गरे ।