गण्डकी प्रदेश

मल्लकालीन मन्दिरलाई घर दान

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरलाई बलबहादुर थापाले घर दान गरे। भारतीय सेनामा कार्यरत धारपानी निवासी थापाले मन्दिर जाने मुख्य चोक मनियलडाँडास्थित दुईतले कच्ची घर मन्दिरलाई दिएका हुन् ।

उक्त मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलका अनुसार मन्दिर जाने मुख्य चोक साँघुरो भएका कारण सवारी साधन आवतजावत गर्न कठिनाइ भएकाले दानस्वरुप प्राप्त भएको उक्त घरलाई भत्काएर समितिले बाटो विस्तार गर्ने भएको छ ।

घरमा प्रयोग गरिएका सामग्री मन्दिर निर्माणमा उपयोग गरिने र ती सामग्रीको रु ५० हजार मूल्याङ्कन गरिएको जानकारी दिँदै उनले थापा दम्पतिलाई समितिले आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको बताए ।

बरकोटका काला जटाभैरवका रूपमा परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको कोटभैरव मन्दिर कास्की दक्षिण भेगको भरतपोखरी र आसपासको महत्वपूर्ण तीर्थस्थल हो ।
प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) मा विशेष पूजा हुने यस मन्दिरमा चैते दशैका साथै विभिन्न समयमा भाकलसहित पञ्चवली गरिन्छ भने प्रत्येक वर्षको साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने गरिन्छ ।