राजनीति

अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै भने, ‘सरकारले गलत कार्य सच्याउने आँट गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल मण्डल पर्यटन नगरीले आज नेपाल कला परिषद्,बबर महलमा आयोजना गरेको नेपाल मण्डल पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको बताए ।

अध्यक्ष दाहालले भने, “तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।”

वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भने, “जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाहीबारे सच्याउने आँट गर्नुपर्छ ।”

धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले ७० वर्षकोे इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताए ।

उपत्यका प्राकृतिकरुपले मात्र होइन, मानवीय सभ्यता र विज्ञान प्रविधिको प्रयोगको दृटिकोणले पनि विश्व मानचित्रमा फरक रहेको बताउँदै उनले उपत्यका वरिपरिको सुन्दर पहाडलाई मानवीय शक्तिले सजाउने काम बाँकी छ भने ।
चित्रकारिताकामार्फत गौरवपूर्ण नेपाली इतिहासका बारेमा गरिने यस्ता प्रदर्शनीले इतिहासप्रति गौरव र सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै उनले भने, “नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक, सांस्कृतिक रुपान्तरणसम्मका विशिष्ट पक्षमा योगदान गरेका व्यक्तिमार्फत इतिहासलाई स्मरण गर्ने प्रयास सरहानीय छ ।”

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जनतामा क्रान्तिकारी भावना सिर्जना गर्न चित्रकारिताले सहयोग गर्नुपर्ने बताए । उनले जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना झल्कने किसिमका चित्रकलाको प्रदर्शनी गर्न सुझावसमेत दिए ।
महिलानेत्री शान्ता श्रेष्ठले राजनीतिक आन्दोलनले उत्पीडित वर्ग, समुदायका जनतामा जागरण ल्याउँदै ग्रामीण दूरदजारमा बस्ने गरीब, अशिक्षित व्यक्तिले पनि आफ्नो अधिकारका लागि लड्नु पर्छ भन्ने मान्यता स्थापित गरेको बताए ।

सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई कला संस्कृतिका क्षेत्रमा अमूल्य योगदान गरेको भन्दै अभिनन्दन गरिएको थियो । त्यस्तै वरिष्ठ पत्रकार भैरव रिसाल, जनगायक जेबी टुहुरे र जीवन शर्मा, महिला नेत्री शान्ता श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष कृष्ण केसीले नेपालीको वीरतापूर्ण इतिहासलाई पुनःजागृत गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको बताए । उनले गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको सीमामा नेपालको कला, संस्कृति र इतिहास झल्कने ‘नेपाल मण्डल पर्यटन नगरी’को स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । एक सातासम्म चल्ने प्रदर्शनीमा ३९ कलाकारका ५१ चित्र प्रदर्शनीमा राखिएको छ ।