आर्थिक

देशभर बिरोध हुँदा समेत यसरी गरियो कर वृद्धिको समर्थन

चितवन । उद्योग वाणिज्य सङ्घ चितवनले भरतपुर महानगरपालिकाले गरेको कर वृद्धिको समर्थन गरेको छ ।

देशका विभिन्न ठाउँमा स्थानीय तहमा भएको कर वृद्धिको विरोध भइरहँदा यहाँको महानगरपालिकाले गरेको कर वृद्धि समृद्ध महानगरका लागि भन्दै सङ्घले टीका टिप्पणी नगर्न आग्रह गरेको हो ।

सङ्घले जारी गरेको विज्ञप्तिमा समृद्ध महानगरका लागि कर उद्योग वाणिज्य सङ्घ चितवनको सदैव चाहना भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “समुचित प्रयोग सम्बन्धमा हामी सदैव सचेत छौँ ।”

यसअघि महानगरले बढाएको करका सम्बन्धमा उद्योग वाणिज्य सङ्घले व्यवसायी, उद्योगी र विभिन्न वस्तुगत सङ्घसँग व्यापक छलफल र गृहकार्यपश्चात् श्रेणी समायोजन गरी कार्यान्वयनका लागि महानगरमा पठाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सबैको समन्वयमा गरिएको कामप्रति अनभिज्ञताका कारण सामाजिक सञ्जालमार्फत व्यक्तिगत टीकाटिप्पणी भएको भन्दै त्यसो नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरिएको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानद्वारा जारी विज्ञप्तिमा सङ्कलित कर व्यवसाय प्रवद्र्धन र व्यवसायमैत्री वातावरण निर्माणमा खर्च गर्नुपर्ने जनाइएको छ ।