प्रदेश 2

नयाँ मुलुकीको प्रयोग हुन समय लाग्ने : प्रदेशमन्त्री सोनल

वीरगञ्ज । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले आजदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन राम्रो भए पनि यसको प्रयोग हुन लामो समय लाग्ने बताए ।

प्रतीक प्रकाशन समूह प्रालिद्वारा प्रकाशित प्रतीक दैनिक पत्रिकाको ३२ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ सुवोध स्मृति पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सोनलले सो ऐनको महत्व समाजमा स्थापित गर्नु जरुरी छ भने ।

अभिभावकले १६ वर्षकै उमेरमा आफनो छोरीको विवाह गरी कन्यादान गर्ने परम्परा समाजमा युगौँ युगदेखि विद्यमान रहेको भए पनि यस ऐनले विवाहको उमेर २० वर्ष तोकेकाले शुरुमा सामाजिक समस्या आइपर्ने बताउँदै प्रदेशमन्त्री सोनलले पहिलेको तुलनामा अहिले मुलुकी ऐनमा सुधारात्मक व्यवस्था समेटिएकाले सामाजिक कुरीति हटाउनमा सहयोग हुने छन् भने ।

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव, नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा पर्साका संयोजक प्रभु हजरा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतका वक्ताले शुभकामना दिएका थिए ।

सो अवसरमा सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कारबाट फोटो पत्रकार पङ्कज श्रेष्ठलाई रु २५ हजार नगद र दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने बाराको ग्रामीण क्षेत्र सिमरौनगढमा रही ग्रामीण पत्रकारितामा योगदान पु¥याउने रामेश्वर मेहतालाई नगद रु १० हजार प्रशंसा पत्र, दोसल्ला ओढाइ सम्मान गर्नुका साथै स्तम्भकार आनन्त कुमारलाल दासलाई समेत नगद सम्मानपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।