प्रवास

कतार जान चाहने कामदारका लागि आयो खुसीको खबर !

काठमाडौं । सरकारले कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउने भएको छ । केही समयभित्रै कामदार कतार पठाउने प्रक्रियाका लागि सरकारी स्तरबाटै ‘रोजगारी भिलेज’को व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगारी भिलेजको स्थापना भएपछि कतारका रोजगारदाताले आफ्नो माग लिएर आउन सक्छन् र कामदारले सोझै रोजगारदातासँग भेट गरी कतारी कम्पनीमा रोजगारीका लागि जान सक्नेछन् ।

श्रम मन्त्री गोकर्ण विष्टले यस विषयमा कतारसँगको छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ । यसरी कमदार पठाउने वातावरण तयार भएपछि कतार जाँदा कमदारले एक रुपैयाँ पनि तिर्न नपर्ने मन्त्री विष्टको भनाई छ ।

रोजगरी भिलेजबाट कामदार लैजाँदा कामदारबाट एक रुपैयाँ पनि लिन नपाइने गरी सम्झौताको योजना बनेको मन्त्रालयले जनाएको छ । तर कतारसँग छलफलकै चरणमा रहेकाले कहिलेदेखि यो व्यवस्था लागू हन्छ भन्ने यकिन भैसकेको छैन ।

कतारसहित खाडीका ६ देश र मलेसिया जाने कामदारका लागि सरकारले फ्रि भिसा र टिकटको प्रावधान लागू गरिएको छ । तर कार्यान्वयन नुहँदा नेपाली कामदार म्यानपावरको माग अनुसार पैसा बुझाउन बाध्य छन् ।

यो वातावरण तयार भएपछि म्यानपावरमार्फत कतार जानु पर्ने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।