आर्थिक

साझाको एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण

काठमाडौँ । साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८/०६९ देखि आव २०७४/०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबाट उक्त कार्य शुरु गरिएको हो । साझाले आव २०६३/०६४ देखि आव २०६७/०६८ सम्मको कार्यालयले गरेको लेखापरीक्षण पुनरवलोकन गर्ने भएको छ ।

“अगाडिका व्यवस्थापकका मान्छेले आफ्नो अनुकूल लेखापरीक्षक नियुक्ति गरेर सो कार्य गराउँदै आए, तर अब हामीले सरकारको लेखापरीक्षकबाट गराउँदैछौ,” उनले भने । यसअघि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदा कर्मचारीको अवरोधले हुन सकेको थिएन । आव २०६८/०६९, २०६९/७० र २०७०/७१ को लागि सुरज घिमिरे, आव २०७१/०७२, २०७२/७३ र २०७३/७४ को लागि नरेश ढुङ्गाना र आव २०७४/०७५ का लागि राजकुमार खड्कालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

साझाले आन्तरिकरुपमा आव २०७१/०७२ सम्मको लेखापरीक्षण सकेको छ । अध्यक्ष तथा महाप्रबन्धक शर्माले लेखापरीक्षणबाट संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी हुने र संस्था सुधारका लागि आवश्यक थप रणनीति अपनाउन सजिलो हुने बताए । सो कार्य तीन महिनामा सक्ने लक्ष्य छ ।