बाग्मती

छ दर्जन घर पहिरोको जोखिममा

चौतारा । अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् ।

भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिए । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ ।

मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् । बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको पहिरोले भूकम्पपछि पुनःनिर्माण गरिएका ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ग्रामीण सडक भासिएको छ ।

सो ठाउँमा पुनःपहिरो झरेमा तलको बस्तीलाई समेत असर पुग्ने हुँदा स्थानीयलाई सतर्क रहन आग्रह गरिएको वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पहिरोले सो नगरपालिकाको वडा नं ५ बसेरीमा पनि पाँच घर जोखिममा पारेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थलीमा पनि पुनःनिर्माण गरिएको १९ घर पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गएराति अविरल वर्षाले पहिरो गएपछि चौतारा साँगाचोक नगरपालिका–३ बतासेमा नौ घर र जुगल गाउँपालिका–६ हाप्रामा दुई घर क्षति तथा सात घर जोखिममा परेको बताइएको छ ।