लुम्बिनी

छाडा चौपायाको बिगबिगी

दाङ । तुलसीपुर बजारमा छाडा चौयाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुने गरेको छ । बजार मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै सवारी आवागमनमा समेत समस्या भएको छ ।

तुलसीपुर बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु रहेका छन् । तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताए । उनले भने, “पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन् आफू व्यस्त हुन्छु गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ । उनले भने, “चौपाया लखेट्दै हैरानी व्यहोर्नुे परेको छ ।”

छाडा चौपायाले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताततै बस्ने भएका कारण आवातजावत गर्ने सवारीसाधनदेखि सर्वसाधारणलाई समेत समस्या हुने गरेको तुलसीपुर निवासी नीरा ढुङ्गानाले बताए। उनले भने, “दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति बढेका कारण आफूहरुले समस्या खेप्नुपरेको छ ।”

तुलसीपुर निवासी खुमानन्द अधिकारीले छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कुनै चासो नदिएको गुनासो गरे । उनले भने, “अहिले तुलसीपुर बजार क्षेत्रमा मात्र १०० को हाराहरीमा छाडा चौपाया रहेको र तीनले निकै सास्ती दिएका छन् ।” तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख माया आचार्यले छाडा चौपायाले नागरिकलाई सास्ती दिएको स्वीकार गर्दै अब छिट्टै व्यस्थापन गर्ने बताए ।

उनले सो व्यवस्थापनका लागि वडा नं १० का वडाध्यक्ष कुमार लामिछानेको संयोजक रहेका एक समिति गठन गरिसकेको बताए । उनले सो समितिले तुलसीपुर उपमहानगरपालिका–१२ को शीतलपुरमा गौशाला निर्माण गर्ने उपयुक्त रहेको स्थान छनोटसमेत गरिसकेकाले अब छिट्टै नै त्यहाँ गौशाला निर्माण गरी छाडा चौपायालाई व्यवस्थापन गरिने छ ।