पर्यटन/संस्कृति

एकीकृत पर्यटन परियोजनामा

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो ।

आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । शहरी भेगमा नेवार जाति तथा समुदायको मुख्य बसोबास रहेको भए पनि गाउँगाउँमा क्षेत्री, मगर समुदायका मानिस बस्छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिमा पनि विविधता रहेको छ । पछिल्लो समय बसाइँसराइका कारणले बाहिरी जिल्लाबाट आएर घर घडेरी जोडेर बस्नेको सङ्ख्या बढ्दै गएको छ ।

नगरमा मल्लकालीन समयदेखि विकास भएका विभिन्न कला र संस्कृतिको प्रभाव पाइन्छ । यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खडकाले जानकारी दिए।

परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् ।

विसं २०५३ चैत १४ गते नगरपालिका ऐन २०५३ अनुसार गठन भएको उक्त नगरपालिकामभित्र पाँगा, चोभार, भाजङ्गल, ट्याङ्ला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटीसमेत प्रमुख स्थान छ । नगरपालिकाका अनुसार त्यस क्षेत्रमा कालोपत्रे सडक ३५ किमी, ग्राभेल सडक ४० किमी, कच्ची सडक ३५ किमी छ ।

कीर्तिपुर शहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । नगरपालिकाको कूल क्षेत्रफल १४ दशमलब ७६ वर्ग किमी छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कीर्तिपुरको कूल जनसङ्ख्या ६५ हजार ६०२ छ । यहाँका अधिकांश स्थानीय बासिन्दा कृषि पेशामा निर्भर छन् ।

स्थानीय पर्यटनको विकासमा लामो समयदेखि क्रियाशील विजयकुमार महर्जनले करीब एक दशकदेखि कीर्तिपुर हिल साइड रिसोर्ट सञ्चालन गर्दै आएका छन् । रिसोर्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न राम्रो तारे होटलको विकास नभएका कारण पर्यटकीयस्थल ओझेलमा परेका छन् । पर्यटन क्षेत्रको विकास गरी स्थानीय सम्पदा तथा संस्कृतिलाई पर्यटकसँग जोड्न सकेमा स्थानीय क्षेत्रको बहुआयामिक विकास हुने उनले बताए ।

अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुन सकेको छैन । शहरी क्षेत्रमा औद्योगिक कलकारखानाका साथै बजारको व्यवस्था, खानेपानी, बिजुली, टेलिफोनको सुविधा छ ।

जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, कर्कोटक नागको वासस्थान टौदह धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् । यिनलाई नै पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय महेश श्रेष्ठले बताए ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुरलाई तीन पटक आक्रमण गरेको इतिहास पाइन्छ । मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा यहाँ स्थापना भएको भए पनि स्थानीयवासी अपेक्षाकृत रुपमा शिक्षित हुन सकेका छैनन् । विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरवासीको अग्रणि भूमिका रहेको छ ।