राजनीति

मोदीको भ्रमणबाट हवाई क्षेत्रको विस्तार र सीमा क्षेत्रमा डुबानको समस्यामा सहमति हुने

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताए ।

भारतीय राजदूतका अनुसार काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्नेछन् ।

सो अवसरमा एकीकृत राप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारत स्वतन्त्र भएको ठीक ७० वर्षका अवधिमा आर्थिक विकासमा ठूलो प्रगति गरेको बताए । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको बताउँदै नेपालको पूर्वाधार निर्माण र उत्पादनसहित आर्थिक विकासमा भारतले सहयोग बढाउने विश्वास व्यक्त गरे ।

नेकपाका नेता डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै दुई मुलुकबीचको हवाई क्षेत्रको विस्तार र सीमा क्षेत्रमा डुबानको समस्या न्यूनीकरणका लागि भारतसँग सहकार्य भइरहेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताए । उनले नेपालमा रेलको विकासका लागि नेपाल आफैँ लगानी गर्न असमर्थ रहेकाले भारत र चीन दुवैको अनुदानमा रेल सञ्चालन हुनुपर्ने औँल्याए । डा महतले भारतसँगको सम्बन्धलाई कुनै पनि राजनीतिक दलले सत्तामा रहँदा तथा विपक्षमा रहँदा फरक फरक विचार राखी खेलाँची गर्न नहुनेमा जोड दिए ।