राजनीति

गरिबी अब दक्षिण एशियाबाटैँ हटाइनेछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल उद्योगको स्थापना मार्फत नेपालमा अविकास,गरिबी र पछौटेपन हटाउनु पर्ने बताएका छन् । “यो अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुने पर्ने बताए । उनले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने बताएका छन् ।

केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले “आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावादीता बढेर जान्छ । ”

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ ” प्रधानमन्त्री ओलीले भने“यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गरेका छन् ।