गण्डकी प्रदेश

फोहर व्यवस्थित गरिँदै

पर्वत । लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ । कुश्मा बजारको फोहरलाई डम्पिङसाइड (फोहर व्यवस्थापन गर्ने ठाउँ) नचाहिने गरी व्यवस्थापन गर्न लागिएको हो । कुश्मा नगरपालिका र सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्रबीच फोहर व्यवस्थापन गर्नेबारे पाँच वर्षका लागि सम्झौता भएको छ ।

अहिलेसम्म कुश्माको फोहर जङ्गल र नदी किनारमा फाल्ने गरिँदै आएको छ । कुहिने र नकुहिने फोहर एउटै ठाउँमा मिसाएर सङ्कलन गरिँदै आएको थियो । भदौपछि कुहिने र नकुहिने फोहर घरबाटै छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था गर्न लागिएको विकास केन्द्रका कार्यक्रम संयोजक टिकाराम भुसालले बताए। “कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरिनेछ,” उनले भने । उक्त मल तरकारी उत्पादन गर्न करेसाबारी र गमलामा प्रयोग गर्न सकिनेछ । उक्त मल उपभोक्तालाई निःशुल्क उपलब्ध गराइने भुसालले बताए ।

“ नकुहिने फोहर खाल्डोमा गाड्ने तथा जलाएर नष्ट गर्छौँ,” उनले भने । फोहर व्यवस्थापन गर्न कुश्मा नगरपालिका– ११ सिल्मीमा सात रोपनी जग्गा भाडामा लिइएको छ । सफा कुश्माका लागि सामूहिक अभियानले विगत १५ वर्षदेखि फोहर सङ्कलनको काम गर्दै आएको छ । गत वर्ष फोहर व्यवस्थापन गर्न नसकेपछि सो काम नगरपालिकालाई जिम्मा लगाइएको हो ।