पु.समाचार

सुन तस्करी, बलत्कार र उखु किसानका समस्या समाधान गर्न माग गर्दै संसदमा उठ्यो चर्को आवाज

काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद हृदयेश त्रिपाठीले नवलपरासीका उखु किसानले लामो समयदेखि चिनी मिलबाट भुक्तानी नपाएको हुँदा रकम भुक्तानीको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

सांसद अनिलकुमार झाले बाग्मती नदीको बाढीले रौतहटमा धेरै खेतीयोग्य जमीन कटान भएको हुँदा तत्काल तटबन्धको व्यवस्था गर्न माग गरे। अर्का सांसद अफताव आलमले राज्यले कुनै समुदाय, जातजाति र भूगोलको हिसाबले विभेद गर्न नहुने धारणा व्यक्त गरे । सांसद राजेन्द्र लिङ्देनले जनतालाई हरेक क्षेत्रमा करको भार थोपरेर सरकारले के गर्न खोजेको भनी प्रश्न गरे ।

सांसद पवित्रा निरौलाले झापाको अर्जुनधारामा १३ वर्षीया बालिका बलात्कृत भएको घटनाका बारेमा अवगत गराउँदै पीडकलाई कठोर कानून बनाएर भए पनि कडा कारवाही गर्न माग गरे । सांसद महेन्द्र राय यादवले वर्षेनी पहाडमा पहिरो र मधेशमा डुबानको समस्या दोहोरिने गरेको भन्दै समयमै चुरे संरक्षण नगरी मधेशमा कृषियोग्य जमीन नष्ट हुँदै जाने बताए ।

सांसद सञ्जयकुमार गौतमले सुन तस्करी छानबिन घटनाका बारेमा जानकारी माग गरे । सांसद मोहन बाँनियाले ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानीमा सहयोग गर्दै आएको ग्रामीण खानेपानी आयोजना खारेज गरेकोप्रति आपत्ति जनाए ।

सांसद डीला सङ्ग्रौलाले तीन तहका सरकारले अनियन्त्रित रुपमा कर लगाएको आरोप लगाउँदै किसानका माग प्राथमिकतामा राखेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गोपालबहादुर बमले मुगुमा रहेको रारा विमानस्थलको ढल निकास नभएका कारण रारा ताल प्रदूषण हुंदै गएको र नजिकको वस्तीका कृषि जमीनमा समेत क्षति पु¥याएको बताए ।

सांसद सानु शिवाले दलित विकास समिति विघटन गर्ने भन्ने समाचारप्रति आपत्ति प्रकट गर्दै विघटन नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हिरादेवी जैरुले सरकारको पछिल्लो निर्णयले दलित समुदायलाई शिक्षामा सहयोग गर्दै आएका संस्था र समिति विघटन भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै यसले दलित समुदायको अधिकार कटौती हुने विचार व्यक्त गरे ।