प्रदेश 2

चार जनाको समूहमा आएको अज्ञात व्यक्तिद्वारा लुटपाट

राजविराज । सप्तरीको राजविराज नगरपालिका–८ स्थित रुपनी रोडमा गएराति एउटा घरमा लुटपाट भएको छ । स्थानीय सत्रुधन यादवको घरमा कोही नभएका बेला चार जनाको समूहमा आएको अज्ञात व्यक्तिले लुटपाट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

सो समूहले यादवको २२ वर्षीया गर्भवती बुहारी रञ्जु यादव र साढुभाइको १० वर्षीय छोरा दिलीप यादवलाई निर्घात कुटपिट गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । उक्त समूहले लुटपाट गरी घरमा रहेका गरगहना, सुन, चाँदी, लत्ताकपडा र नगद गरी करीब रु पाँच लाख मूल्यबराबरको सरसमान लगेको पीडित यादवले बताए ।

कुटपिटबाट घाइते दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लुटपाट गर्ने व्यक्तिको तीव्ररुपमा खोजी जारी राखिएको नायब प्रहरी उपरीक्षक रिमालले जानकारी दिए ।

विद्युत् चोरी गर्ने दश जना पक्राउ

सप्तरीमा जारी रहेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत आज १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको अनुगमन टोलीले जिल्लाको विभिन्न ठाउँमा अनुगमनका क्रममा विद्युत् पोलमा चोरी गर्ने १० जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान विद्युतीय मिटर, एक थान पङ्खा र एक थान एलएडी टिभी बरामद गरिएको प्रमुख साहले जानकारी दिए । पक्राउ परेका व्यक्तिबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ जरिवाना असुलउपर गरी छाडिएको प्रमुख साहले भने ।