समाचार

१५ सालका मन्त्री राणाको निधनमा काङ्ग्रेस कार्यालयमा तीन दिन झण्डा झुकाउने

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका कावा सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनमा यही साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने तथा १३औँ दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काङ्ग्रेसका पुराना अग्रज नेता राणाको यही साउन २५ गते भारतको कोलकातामा निधन भएको हो । बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता थिए ।

विसं २०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराएका थिए ।

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकालमा उहाँ केन्द्रीय सदस्य थिए । बैठकले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बम प्रहार घटनाको भत्र्सना

नेपाली काङ्ग्रेसले विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराइ क्षति पु¥याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उनको कार्यकक्ष बाहिर आज गराइएको बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधनामा समेत क्षति पुगेको छ ।

काङ्ग्रेसले घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल खोजी गरी कडा कारबाही गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

दाहालको निधनप्रति दुःख व्यक्त

नेपाली काङ्ग्रेसले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व, वरिष्ठ पत्रकार एवं वरिष्ठ रेडियोकर्मी यज्ञनिधि दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसले आज एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

उनको निधनबाट सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपूरणीय क्षति पुगेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दाहालको यही साउन २५ गते माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मस्तिस्कघातबाट निधन भएको हो । लोक जीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै बोलीमा मिठास र भाषामा लयात्मकतामा आधारित भएर उनले दिने प्रस्तुतिले नेपाली स्रोतालाई आकर्षित गरेको थियो ।

लामो समयसम्म अध्यापन सेवामा समर्पित रहेका स्व दाहालले साहित्य र पत्रकारिताका क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउन तथा चेतनासमेत बढाउन सक्रिय भूमिका निर्वाह गरेका थिए ।