विचार/ब्लग

नेदरल्याण्ड मात्र हैन, अधिकांश युरोपियन देशहरुमा म पुगिसकेको छुँ

महेन्द्र चालिसे/गत वर्ष अमेरिका बस्दा नेदरल्याण्डबाट एउटा साथीले इमेल पठायो । अन्तर्राष्ट्रिय एड्स समाजले नेदरल्याण्डको एमस्ट्रडममा सन् २०१८ जुलाई २३ देखी २७ सम्म अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ, म गत १८–२० वर्ष देखि एच आईभि एड्स क्षेत्रमा काम गरिरहेको हुनाले र पहिला पहिला यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरुमा भाग लिएर आफ्ना काम र अध्ययन प्रतिवेदनहरु पनि प्रस्तुत गरिसकेको र अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु छापिएको हुनाले डच साथीले त्यो २२ औं अन्तर्राष्ट्रिय एड्स सम्मेलनमा भाग लिन खवर गरेको थियो । तर मैले गत वर्षको श्रावण देखि आफुले Volunteer गरेको संस्थामा काम गर्न छाडिसकेको हुनाले संस्थागत रुपमा सहभागिता जनाउन कसो कसो नैतिक आचरणले दिएन त्यसैले २०६० साल देखि स्वतन्त्र पत्रकारको रुपमा पनि काम गरिरहेकोले पत्रकारकै हैसियतमा सहभागी हुनुपर्यो भन्ने सोचले पत्राचार गरें र आयोजकको तर्फबाट स्विकृत प्राप्त गरें । यसरी अमेरिका वसाइमै गत वर्ष नै नेदरल्याण्डको एमस्ट्रडमको योजना तयार भयो ।

हुन त नेदरल्याण्ड (नेदरल्याण्ड मात्र हैन, अधिकांश युरोपियन देशहरुमा म पुगिसकेको छुँ) म पहिलो चोटी जान लागेको थिइन । यो मेरो तेश्रो भ्रमण थियो । पहिलो पल्ट, १६ वर्ष अघि अर्थात सन २००२ मा नेदरल्याण्ड स्कुल अफ पब्लिक हेल्थमा पढ्न गएको थिएं । त्यसपछि गत वर्ष जर्मन स्थित नेपाली राजदूत मित्र रमेश खनालको निमन्त्रणामा अर्को मित्र धन्वन्तरी मीश्रसंग जर्मनी, चेक गणराज्य, वेल्जियम र नेदरल्याण्ड गएको थिएँ र यो तेश्रो पल्ट थियो ।
बास्तवमा कहिं पनि चाहे स्वदेश होस या विदेश कहिं कतै घुम्न जांदा एकजना साथी भयो भने त्यो घुमाई सारै रमाइलो हुन्छ तर एक्लै घुम्दा खासै रमाईलो चाहि हुदैन । तर यसो भन्दैमा साथी पाउनपनि त सजिलो छैन नी, त्योपनि बिदेश यात्रामा । यसपल्ट एमस्ट्रडम एक्लै घुम्दा केही अनुभव चाहिं गरियो । त्यो हो आफुसंग भएको समयलाई कसरी सदुपयोग गर्दै बढी भन्दा बढी ठाउँहरु घुम्ने भन्ने नै हो ।

यदि धेरै जना (अरु यात्रुहरु) बटुल्न सकिन्छ भने एमस्ट्रडममा यो गर्मीयाममा पानीमा विताउन उत्तम हुन्छ, किनकी त्यहां धेरै वोट (डुंगा) कम्पनीहरु छन् । तिनीहरुबाट डुंगा भाडामा लिन पाइन्छ, जस्को लागि साना वोट भाडामा लिनको लागि बोट चलाउन लाइसन चाहिंदैन ।

एमस्ट्रडममा सिपोल एयरपोर्टमा ओर्लेपछि अध्यागमन पार गरी आफ्ना लगेजहरु लिए पछि सर्व प्रथम पर्यटक सूचना केन्द्रमा गएर आपूmलाई आवश्यक पर्ने जानकारीहरु लिनु उपयोगी हुन्छ । मुख्यतया त एयरपोर्टबाट कुन सवारी साधनबाट शहर जाने भन्ने/ किनकि एयरपोर्टबाट शहर पुग्नलाई ट्याक्सी, ट्रेन र बस उपलब्ध छ । ट्याक्सीमा जांदा लगभग ५५ देखि ६० युरो पर्छ भने बसमा जांदा ६–७ युरो र रेलमा जांदा ४–५ युरो पर्छ । अझ १२ घण्टा २४ घण्टा या ४८ घण्टाको टिकट लियो भने क्रमशः ७ः५०, १२ः५०, २०ः५० युरोले पाइन्छ । जुन टिकटले त्यति घण्टाभित्र असिमित प्रयोग गर्न सकिन्छ । त्यसैले युरोपमा ट्याक्सी चढ्नु भनेको हामी जस्तालाई त सारै महंगो पर्छ । सबै भन्दा सजिलो त मेट्रो नै हुन्छ ।

शहर अथवा आफु बस्ने होटल पुगेपछि त्यहां पनि आफुलाई चाहिने जानकारी लिन सकिन्छ । जस्तो बसहरुको रुट, ट्रामको रुट रेल आदि बारे र घुम्ने आफ्नो इच्छा अनुसारका स्थानहरु । कसैलाई वजार घुम्न पर्ला, कसैलाई रमणीय स्थलहरु भने कसैलाई म्युजियम कला केन्द्रहरु आदि । त्यसैले सिमित समय हुनेहरुले सवै स्थानको वारेमा भन्दा आफ्नो चाखको बारेमा मात्र जानकारी राखेमा समयको सदुपयोग हुन पुग्छ ।

ती सवै जानकारी भएपछि आफ्ना यात्रा सूची बनाउन सजिलो हुन्छ । अझ यात्रा सूची वनाउंदा १२ घण्टाको २४ घण्टा ४८ घण्टा ७२ घण्टा भन्दा माथिको वनाउन सकिन्छ । यदि १२ घण्टाको यात्रा कार्यक्रम वनाउने हो भने करिव १ घण्टा डूंगा चढेर नहर घुम्ने/ एमस्ट्रडम शहर घुम्ने यो जतिको रोमाञ्चक र सरल उपाय अरु सायदै होला । त्यसपछि अर्को २ घण्टा हल भन्दा बाहिर खुला ठाउंमा देखाइने सांगितिक कार्यक्रम हेर्न सकिन्छ जुन विना शुल्क आनन्द लिन सकिन्छ । त्यसैगरी अर्को ३ घण्टा विताउनका लागि डचहरुको परम्परागत घरको माथि आकर्षक चित्रहरुले छापिएका भित्ताहश्ररु भएका खुला कौषी (टेरेस) मा वसेर विभिन्न पेय पदार्थहरुको आनन्द लिन सकिन्छ । हरेक एक घर छाडेर अर्को घरमा यस प्रकारको ‘टेरेसवार’ भेटिन्छ जहा परम्परागत डच व्राउन कफि देखि रुफटप कक्टेल वार हुन्छ ।

त्यसैगरी अर्को ३–४ घण्टा एमस्ट्रडमका प्रख्यात वजारहरु घुमेर विताउन सकिन्छ । जहा प्राचिन खजानाका रुपमा संकलन गरि राखिएका पुरातात्विक वस्तुहरु, कितावहरु लगायत उच्च खानदानले प्रयोग गर्ने उच्चस्तरमा कपडाहरु भेटिन्छन । एन.डि.एस.एम. वार्फ स्थित आइ.जे. हलेन बजार त्यहांको सबैभन्दा ठूलो वजार हो भने देपिज्प स्थित अल्वर्ट किप बजार चाहिं डच मोडलका सामानहरुको लागि प्रख्यात छ ।

एमस्ट्रडम पुग्ने पर्यटकहरुले हेर्न छुटाउन नहुने धेरै, चिजहरु छन् तर ती सवै हेर्न र घुम्न ५–७ दिन का लागि जाने हामि जस्तालाई साध्य हुने कुरा भएन । त्यसैले छानेर र नजिकका निम्न स्थानहरु जान आफ्नो कार्यक्रम वनाउन सकिन्छ ।

प्रोएजोल्डर चिज कारखाना जहा डचहरुको परम्परागत चिज बनाएको हेर्न पाइन्छ र चाख्न पाइन्छ । क्यानल कु्रज – एमस्ट्रडम घुमाइको सवैभन्दा राम्रो अनुभव नै पानीबाट घुम्नु हो भन्नु अत्युक्ति नहोला । किनकि त्यहाँ एउटा प्रचलिन भनाइछ कि शहरमा ऐना जस्ता पानीको वाटो यति धेरै छ रे जहाँ सबै प्रकारका क्यानल क्रुज पाइन्छन् रे ।

विश्व यात्री एवं दुर्लभ कलाकृतीका संकलक रोवर्ट रिप्लेको ड्याम स्क्वायर स्थित ‘विश्वास गर या नगर’ भन्ने आर्ट संकलन केन्द्र जहाँ प्राचिन, प्राकृतिक् तथा वैज्ञानिक कलाकृतिहरु प्रदर्शन गर्न राखिएको छ – यो पनि एकपल्ट हेर्नै पर्छ ।

अर्को छुटाउन नहुने मध्ये म्युजियम स्क्वायरमा सन १८८८ मा वनेको शाही कन्सर्टजीवाऊ, जहाँ विश्वस्तरको सांगितिक कार्यक्रम प्रदर्शन गरिन्छ । त्यहाँको स्वागत सत्कारले विर्सन नसक्ने अनुभव प्रदान गर्छ । त्यस केन्द्रमा वर्ष भरिमा सात शय भन्दा बढी सांगितिक कार्यक्रम प्रस्तुत गरिन्छ । जस्मा शास्त्रिय देखि ज्याज र पप सम्म पर्छन ।

यस्ता अरु धेरै स्थानहरु छन्, जुन घुम्न र हेर्नै पर्छ तर आफ्नो समय, श्रोत र साधनले पनि भ्याउनु पर्छ ।  थारै समय हुनेले एमस्ट्रडमलाई विभिन्न भागमा वाँडेर घुम्ने योजना वनाउन उपयुक्त हुन्छ । जस्तो: सिटि सेन्टर, क्यानल डिस्ट्रिक्ट, पश्चिमी एमस्ट्रडम, दक्षिणी एमस्ट्रडम, पूर्वी एमस्ट्रडम र उत्तरी एमस्ट्रडम । किनकि सवै क्षेत्रका आ–आफ्ना छुट्टा छुट्टै विशेषताहरु छन जस्तो कि एमस्ट्रडम धेरै चिजमा प्रख्यात हुनुमा ऐतिहासिक सिटि सेन्टर पनि एक हो । यो शहरको मध्य भागमा अवस्थित छ । यहाँ रेडलाइट एरिया देखि ड्याम स्क्वायर, सेन्ट्रल स्टेशन र धेरै पुराना तथा ऐतिहासिक भवनहरु यहीं छन् । साघुरा गल्ली देखि नहरका सुन्दर दृष्यहरु यसै क्षेत्रमा छन् ।

यस क्षेत्रमा भएका अथाह सम्पतिको कारण र युनस्कोको विश्व सम्पदामा अंकित यो क्यानल क्षेत्र लाई १७ औं शताब्दीमा एमस्ट्रडम शहरको यो क्षेत्र क्यानल डिस्ट्रिक्टमा विस्तार गरिएको हो । यहाँका क्यानल हाउसहरुल सवै ओपन एयर म्युजियम जस्ता देखिन्छन् ।

पश्चिम एमस्ट्रडम जहाँ धेरै जसो स्थानीय डचहरु बसोबास गर्छन । यहाँ घुम्नका लागि रमणिय पार्कहरु छन् । यो प्रायः शान्त रहन्छ, त्यसैले शान्ति प्रिय व्यक्तिहरु प्रायः यस क्षेत्रमा घुम्न आउने कार्यक्रम वनाउंदा रहेछन ।

दक्षिणी एमस्ट्रडम जुन व्यापारिक एवं उच्च महत्वको क्षेत्र मानिंदो रहेछ । जहां पि.सि. हफ्ट, म्युजियमपिन जस्ता किनमेल गर्ने क्षेत्र रहेछन । यो क्षेत्रलाई महत्वपुर्ण मानिंदो रहेछ जस्लाई संस्कृतिको धनी, फेशनको धनी र ठुलठूला पार्कहरु भएको क्षेत्र भन्दा रहेछन् । यही नै एल्वर्ट किप वजारका २६० स्टल पनि रहेको छ ।

पुर्वि एमस्ट्रडम क्षेत्र अरु भन्दा एकदमै भिन्न रहेछ । उन्नाइसौं शताब्दिको अन्त्यतिर निर्मित भवनहरुका कारण र अरु विश्वबाट प्रभावित रेष्टुरेन्ट आदिका कारण यो क्षेत्र अलि वेग्लै देखिंदो रहेछ । यहां प्रायः पिकनिक मनाउन र आराम गर्ने उद्देश्यले मात्र मानिसहरु आउंदा रहेछन् ।

आर्ट र कल्चरको कारणले उत्तरी एमस्ट्रडम आधुनिक रुपले विकास गर्दै रहेछ र सेन्ट्रल स्टेशनबाट २ मिनेट निःशुल्क फेरी चढेर गएपछि एमस्ट्रडम नर्थ पुगिन्छ । त्यहाँ पुग्नासाथ पहिलो देखिने चित्र “एडाम लुक आउट हो भने वायाँ पट्टि “आई फिल्म म्युजियम” भवन देखिन्छ जुन एमस्ट्रडमको सवैभन्दा ठुलो थिएटर हो ।

# यी सवै स्थान घुम्नलाई हामिजस्ता कुनै कार्यक्रममा छोटो अवधी एमस्ट्रडम पुग्ने सबै व्यक्तिको पहुँचको कुरा होइन, साधन श्रोत र समय दुवैको दृष्टिले । तैपनि यी मध्ये केही ठाऊँ भने पक्कै पुग्नै पर्छ र फेरी यतिमात्र स्थान पनि त हैन नी, यी वाहेक अरु धेरै स्थानहरु छन् । जुन आ–आफ्नो रुची र श्रोत अनुसार पुग्न सकिन्छ । मैले आफ्नो तेश्रो भ्रमणमा बिश्व एड्स सम्मेलन २०१८ को कार्यक्रममा वस्नु वाहेक यती स्थानहरु घुम्न सके ७ दिनको एमस्ट्रडम यात्रामा

# सन् १९९७ अप्रिलमा फ्रान्सको केन्स शहरबाट सुरु भएको मेरो विदेश यात्रा सन् २०१८ जुलाई सम्म आइपुग्दा ३३ देशमा ७१औं पल्टको यात्रा नेदरल्याण्डको एमस्ट्रडममा भएछ बिश्व एड्स सम्मेलन २०१८ मा सहभागी हुने निहुंमा ।