साहित्य

यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए। चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।