विचित्र संसार

हत्या भएको भनिएका पत्रकार जिवितै फेलापछि…

काठमाडौं । हत्या भएका भनिएका रुसी पत्रकार आर्काडी बाब्चेन्को जीवीतै र स्वस्थ रहेको पाइएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक बाब्चेन्को युक्रेनको एक टेलिभिजनमा मंगलबार भएको पत्रकार सम्मेलनमा देखा परेको बीबीसीले उल्लेख गरेको छ । युक्रेनमा निर्वासित जीवन बिताइरहेका उनको राजधानी किभमा गोली हानी हत्या भएको बताइएको थियो ।

युक्रेनका सुरक्षा प्रमुख भेसिल हृतसकले रुसी गुप्तचरको पहिचान गर्नका लागि हत्याको नाटक रचिएको बताए । रुसले पत्रकार बाब्चेन्कोको हत्या गर्न गुप्तचरलाई निर्देशन दिएको सूचना प्राप्त भएपछि हत्याको नाटक बुनिएको उनले बताए । बाब्चेन्कोले हत्याको नाटक गरिएकोबारे आफ्नी श्रीमतिलाई समेत जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन्। युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश “रुसी गुप्तचर निकायले जारी गरेको” दावी गरेका थिए। त्यस्तो हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनको प्रहरीले जनाएको छ। बुधबार पत्रकार सम्मेलन कक्षमा बाब्चेन्को प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय-मिश्रित प्रतिक्रिया जनाएका थिए। उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद दिएका थिए।

सन् २०१६ मा दुर्घटनाग्रस्त रुसी सैनिक विमानका बारेमा विवादास्पद समाचार लेखेपछि आफूलाई ज्यानमार्ने धम्की आएको भन्दै उनले रुस छाडेका थिए । यसअघि उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो । ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या गराइएको समाचार सम्प्रेषण गरिएका थिए । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनी के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलाइएको थिएन । उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको जानकारी दिएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धमा बाब्चेन्कोले केही समयअघि निकै समाचार लेखेका थिए । उनी रूसका चर्चित र खोज पत्रकार मानिन्छन । युक्रेनको राजधानी किभमा मंगलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको बताइएको थियो ।

बाब्चेन्कोको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको थियो। यद्यपी अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रूपमा हत्या भएको संकेत मिलेको पश्चिमा सञ्चारमाध्यमले जोडतोले उल्लेख गरेका थिए । ४१ वर्षिय बाब्चेन्को युक्रेनबाट क्रिमिया टुक्रिएर रूसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनकी श्रीमतीलाई उद्धृत गर्दै उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर भएका समाचार सार्वजनिक भएका थिए ।