खेलकुद

केभीकेएसएस बास्केटबल बुधबारदेखि

काठमाडौँ । काठमाडौँ विद्या कुञ्ज सेकेण्डरी स्कूल (केभिकेएसएस) को आयोजनामा दोस्रो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टोलीको सहभागिता रहने केभिकेएसएसका प्रधानाध्यापक प्रेमप्रसाद कँडेलले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ब्वाइज टोलीलाई आठ समूह र गल्र्सलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

प्रधानाध्यापक कँडेलले विद्यालय बीचको आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन र विद्यार्थीलाई पढाइमा मात्र नभई अत्तिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु तीन लाख ५० हजार खर्च हुने जनाइएको छ ।

प्रतियोगिताका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ । अघिल्लो वर्ष भएको पहिलो संस्करणमा ह्याप्पी हिमालय चाइल्ड एकेडेमी (एचएचसिए) ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बनेको थियो ।