विचित्र संसार

‘एमबीबीएस’मा गोल्ड मेडल हासिल गरेकी छात्रा बनिन् भिक्षु, यस्तो छ कारण !

नयाँ दिल्ली ३ । एमबीबीएस तहको अध्ययन पुरा गरिसकेका विद्यार्थीलाई भविष्यको त्यति ठूलो चिन्ता हुँदैन किनकि उनीहरु चिकित्सक बन्ने अन्तिम चरणमा पुगिसकेका हुन्छन् ।

एमबीबीएसको अध्ययन पुरा गरिसकेर चिकित्सा अभ्याससमेत पार गरेकी एक छात्राले चिकित्सा सेवामा सुनिश्चित सुनौलो भविष्यलाई आश्चर्यजनक ढंगले लत्याउँदै सन्यासी जीवनमा प्रवेश गरेकी छन् ।

भारतको अहमदनगर युनिभर्सिटीबाट एमबीबीएसमा गोल्ड मेडल प्राप्त गरेकी हिना हिंगडले जैन भिक्षु जीवनमा आफूलाई प्रवेश गराएकी हुन् । उनले सूरतमा बुधबार औपचारिक रुपमा जैन परम्परा अनुसार दीक्षा ग्रहण गर्दै भिक्षु जीवनमा पाइला टेकेकी हुन् । भिक्षु भएसँगै उनको पहिचान परिवर्तन भएको छ । उनलाई अब साध्वी विशारदमाल नामले चिनिने छ ।

भारतीय संचारमाध्यमका अनुसार उनले केही वर्षअघि देखि नै परिवारका सदस्यसँग भिक्षु जीवनमा प्रवेशका लागि अनुमति मागेकी थिइन् । तर परिवारका सदस्यले अनुमति दिएको थिएन । उनी परिवारका सदस्यहरुको आकांक्षा र सुझावलाई उपेक्षा गर्दै सांसारिक मोहबाट टाढा पुगेकी हुन् ।

उनले आध्यात्मिक गुरु आचार्य विजय यशोवर्मा सुरेश्वरजी महाराजबाट दीक्षा लिएकी हुन् । दीक्षा लिनुअघि उनले ४८ दिनसम्म ध्यान गरेको बताइन्छ । -एजेन्सी