विचित्र संसार

भुपु लोग्नेले दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि सकिएन !

काठमाडौं । डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला रु नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ ।

तर भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ एकजना महिलालाई उनका पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि सकिएन ।

सायद दिनभर गन्दा पनि नसकिने भनेपछि त्यो रकम अर्बौँमा हुनुपर्छ भन्ने अनुमान लगाउनुभयो होला ।

तर होइन, ती महिलाले उनका पूर्व पतिबाट हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो ।

सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए ।

खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो ।

डिभोर्सी महिला पेशाले वकिल हुन् भने उनका भुपु पति पनि वकिल नै हुन् । भारतको चण्डीगढमा यो घटना भएको हो । भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएर गन्न भनेपछि ती महिलाले आपत्ति जनाइन् । भुपु लोग्नेले आफुलाई दुख दिनका लागि त्यसो गरेको उनको भनाई थियो ।

तर ती पुरुषले चाहीँ कसैलाई दिनुपर्ने रकम १ सय, २ सय वा २ हजार भारुका नोटमै दिनुपर्छ भन्ने कहीँ नलेखेको दाबी गरे ।

उनको बोरामा लिएर अदालतभित्रै थुप्रो लगाइदिका सिक्काहरु दिनभर पनि गन्न नसकिएपछि न्यायाधीशले चोटिलो आदेश गरे । उनले पैसा बोकेर २७ जुलाईमा पुनः आउन ती पुरुषलाई आदेश दिएका छन् । –एजेन्सी