साहित्य

आदिकवि र विश्वकविको सम्मानका लागि जोड

काठमाडौँ । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल गरिएको छ ।
भारतमा रहेका भारतीय–नेपालीभाषी तथा रोजगारी, व्यवसाय, अध्ययनलगायत विभिन्न कारणले त्यहाँ रहेका नेपालीको संयुक्त पहलमा यस क्षेत्रका दुई अति विशिष्ट कविका नाममा प्रतिष्ठान गठन गर्न लागिएको हो । दुवै देशका भाषा, साहित्य र संस्कृतिको विस्तार गरी जनस्तरको सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वासले प्रतिष्ठानको आवश्यकता बोध गरिएको कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताए । कोलकातामा यसअघि भानुभक्तको शालिक स्थापना गरिसकिएको छ । कोलकातामा क्रियाशील नेपाली समुदायका २६ संस्थाको पहलमा आगामी दिनमा प्रतिष्ठान स्थापनाको कानूनी तथा भौतिक तयारी तीव्र पारिने समितिका महासचिव रामबहादुर कार्कीले बताए ।

यसैबीच नेपाली जनकल्याण समिति कोलकाताको आयोजना र नेपाली महावाणिज्यदूतावास कोलकाता, भानु प्रतिष्ठानन नेपाल, संयुक्त नेपाली केन्द्रीय सेवा संघ र भारत नेपाल जनमैत्री साँस्कृतिक मञ्चको संलग्नतामा कोलकाताको दासनगरमा २०५ औंँ भानुजयन्ती मनाइएको छ । कार्यक्रममा भारत पश्चिम बङ्गाल राज्यका सहकारीमन्त्री अरूप रायले प्रतिष्ठानका लागि स्पष्ट कार्ययोजनासहित प्रस्तुत हुन प्रस्तावक संस्थालाई आग्रह गरे ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले दुवै प्रतिभाका नाममा नेपाल तथा भारतका भाषा, सहित्य तथा कलाको विकासमा योगदान दिन सकिने विश्वास व्यक्त गरे । प्रतिष्ठानका सल्लाहकार धर्मराज बरालले पश्चिम बङ्गाल सरकार र कोलकातास्थित भारतीय निकाय भानुभक्तप्रति सकारात्मक रहेका बताउँदै गत वर्ष नै मन्त्री अरूप रायले भानुभक्तका नाममा सडकको नामकरण, प्रतिष्ठानका लागि जग्गा र अन्य भौतिक सहयोग गर्न लिखित योजना मागेको तर नेपाली पक्षकै आन्तरिक तयारीले ढिला भएको जानकारी दिए ।

नेपाली भाषा साहित्यको विकासमा कोलकातामा सक्रिय नारायण होमागार्इंँले कोलकातामा ‘नेपाली घर’ निर्माण गर्न जग्गा खरीद गरिएको जानकारी दिँदै त्यसमार्फत भानुभक्त र रवीन्द्रनाथको योगदानको प्रचारप्रसारमा बल पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कोलकता निवासी नेपाली साहित्यका अध्येता डा सत्यप्रकाश तिवारी, भानु प्रतिष्ठानका महासचिव ऋषभदेव घिमिरे, सचिव रमेश शुभेच्छु, साहित्यकार तथा पत्रकार त्रिभुवनचन्द्र वाग्ले, कवि सुभद्रा भट्टराईलगायतले भानुभक्त र रवीन्द्रनाथकोे योगदान प्रचारप्रसारका लागि दुवै देशका नागरिकस्तरमा पहल हुनुपर्ने बताए ।