साहित्य

बुढामगरको ‘हामी कसरी जिउँछौँ’ पुस्तक बजारमा

काठमाडौँ । वरिष्ठ साहित्यकार जितासिंह बुढामगरको ‘हामी कसरी जिउँछौँ’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । विभिन्न ४८ शीर्षकमा मानव समाजको शास्त्रीय विकासको इतिहास, सभ्य मानव समाज, प्रजातन्त्र तथा गणतन्त्र, सन्तान, स्वास्थ्य, दमन तथा विभेद, धर्म सांस्कृतिक परम्परा र त्यसको समायोजनजस्ता विविध विषयमा लेखिएका उक्त पुस्तक अहिलेका युवापुस्ताका लागि महत्वपूर्ण रहेको छ ।

सो पुस्तकको शनिबार विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राज्ञ नर्वदेश्वरी सत्यालले नेपालजस्तो पिछडिएको समाजमा जनचेतना अभिवृद्धि गर्न तथा समाजका विकृति अन्त्य गर्नका लागि पुस्तक उपयोगी रहेको विचार व्यक्त गरे ।

उनले शिक्षा नै धन भएकाले शिक्षाबाट नै समाजमा परिवर्तन गर्न सक्ने भन्दै यस्ता पुस्तकबाट नेपाली साहित्य भण्डारमा एउटा इँटा थपिएको धारणा राखे।

पुस्तकका लेखक जितासिंह बुढामगरले नेपालमा सामाजिक क्षेत्रमा रहेको विकृतिलाई आफूले पुस्तकमा केलाएर विचारको अनुभव पस्कँदै पाठकसमक्ष पुस्तक ल्याएको बताए ।

नेपाल मगर संघ काठमाडौँ जिल्ला अध्यक्ष गौरबहादुर आलेमगरले युवालाई शिक्षाको माध्यमबाट देश विकासमा लाग्न पुस्तकले प्रेरणा दिने विचार व्यक्त गरे ।