साहित्य

हिम्मतका साथ ‘बादलभित्रको घाम’ सार्वजनिक

काठमाडौँ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ आज सार्वजनिक गरिएको छ ।

वाङ्मय शताब्दी पुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गरे । सो अवसरमा शताब्दी पुरुष जोशीले पुस्तकमा निकै विवादका कुरा रहेकाले आफूले अहिले नछपाउन लेखकलाई आग्रह गरेको जानकारी दिँदै कृति पढ्दा आफू पनि क्रान्तिकारी बनूँजस्तो लागेको बताए ।
समालोचक प्रा डा राजेन्द्र सुवेदीले लेखकले धेरै पात्रहरुलाई हिम्मतका साथ निबन्धमा समाविष्ट गरेको बताउँदै तथ्यहरु राखेर पनि राम्रो निबन्ध बन्न सक्दो रहेछ भन्ने उदाहरण प्रस्तुत कृति रहेको विचार राख्नुभयो । प्रा डा कृष्णहरि बरालले विमोचनका अवसरमा भव्य उपस्थितिले नै कृति उत्कृष्ट रहेको प्रमाणित गर्छ भने ।

कार्यक्रममा शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले मीठो भाषामा लिखित पुस्तकले नेपालको राजनीतिक संक्रमणकाल चिन्न सकिने बताए । लेखक शर्माले आफ्नो जीवनमा देखेका भोगेका कुरालाई निबन्धका रुपमा प्रस्तुत गरेको बताए ।
शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा ‘पात्लेखेतदेखि मुगलानसम्म’, ‘लाहुरे जीवनः एक सपना’, ‘जिन्दगीका अक्करबाट नियाल्दै उज्यालो’, ‘गिरिजाबाबुको धाप’, ‘काठमाडौँदेखि लोमान्थाङसम्म’, ‘साझा प्रवेशको चक्कर’लगायत १८ निबन्ध छन् । सो अवसरमा मोमिला, राजेश खनाल र प्रकाश सिलवालले कृतिमा रहेका निबन्धमा अंश वाचन गरेका थिए ।

प्रतिष्ठानले रु एक लाख राशिको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ पनि स्थापना गरेको छ । निबन्धसंग्रहको बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । शर्माको उक्त पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही रु २५ हजारसहित सम्मान गरिने बताइएको छ ।