राजनीति

ओली सरकारलाई अधिनायकवादी भन्दै देशव्यापी प्रदर्शनमा यसरी उर्लियो कांग्रेस महासागर !

काठमाडौं । प्रमख विपक्षी दल नेपाली कांग्रेसले मंगलबार ७७ जिल्लामा नै व्यापक सहभागिताका साथ विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्देशानुसार मंगलबार वर्तमान सरकारका विरुद्ध कांग्रेसले ५ लाख बढी कार्यकर्ता सडकमा उतारेको हो ।

कांग्रेसले यो प्रदर्शनलाई अधिनायकवाद उन्मुख सरकारका विरुद्धमा भएको प्रदर्शनको संज्ञा दिएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै  कांग्रेसले विरोध प्रदर्शनमा ५ लाख भन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको सहभागिता रहेको जनाएको छ ।

डा. गोविन्द केसी र सरकार बीच भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारलाई दवाव दिने, चर्को मूल्य वृद्धिका विरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दवाव बढाउने, निषेधाज्ञा फिर्ता लिन सरकारलाई खवरदारी गर्ने, उपकूलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारवाहीका लागि दवाव बढाउने लगायतका मुद्दाहरुलाई लिएर कांग्रेसले देशभरी व्यापक प्रदर्शन गरेको थियो ।

आजको प्रदर्शनले राष्ट्रव्यापी रुपमा पार्टीले उठाइरहेका मुद्दाहरुमाथि व्यापक जनसमर्थनको पुष्टि गरेको कांग्रेसको दाबी छ ।

मंगलबारको प्रर्दशनले जनभावना अनुरुप सच्चीई अगाडि बढ्न सरकारलाई सजग गराएको छ भन्ने विश्वास पार्टीले लिएको कांग्रेसको निष्कर्ष छ ।  कांग्रेसले मंगलबारको लाखौंको देशव्यापी प्रदर्शनलाई नजरअन्दाज गर्न सरकार लाग्यो भने, महंगो पर्ने चेतावनी दिएकोे छ ।

देशभरिको प्रदर्शनलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई विज्ञप्तीमार्फत नेपाली कांग्रेस केन्द्रीय समितिले धन्यवाद दिएको छ ।