समाचार

बलात्कारीलाई मृत्युदण्ड (फासी) दिन काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा समेत मृत्युदण्डको सजाय भएको स्मरण गराउदैँ नेपालमा पनि बलात्कारीलाई मृत्युदण्डको सजाय बनाउन माग गरेकी हुन् ।

आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी पन्तको हत्यारालाई कुनै पनि हालतमा छोड्न नहुने सांसदहरुले जोडदार माग गरेका छन् । टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।

प्रदेश नंं. ७ बाट संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गरेका छन् । कांग्रेसका अन्य केही सांसदले बलात्कारीलाई कारवाही गर्नुको साटो सरकार हत्याराको बचाउ गर्न तर्फ उद्धत रहेको गम्भीर आरोप लगाएका छन् ।