साहित्य

साहित्यिक माहोल तात्दैँ

चितवन । चितवनमा पछिल्लो समय साहित्यिक गतिविधि बढ्दै गएको छ । सार्वजनिक बिदाका दिनमा समेत बढ्दै गएका कार्यक्रमले समेत यहाँको साहित्यिक गतिविधि बढाएको जिल्लाका साहित्यकारले बताएका छन् ।

साहित्य संगम चितवनका अध्यक्ष द्वारीका नेपालका अनुसार जिल्लामा २५ वटा साहित्यसँग सम्बन्धित संघ संस्था दर्ता छन् । दर्ता नभएका संस्थाको संख्या त्यो भन्दा बढी रहेको छ । क्रियाशील लेखक र साहित्यकारको संख्या बढ्दो छ ।

अध्यक्ष नेपालले पढ्ने संस्कृति र साहित्य लेखन दिनानुदिन बढ्दै गएसँगै साहित्यीक क्रियाकलाप पनि बढ्दै गएको बताए । जिल्लाका सबैजसो साहित्यीक संघ संस्थाले पुस्तक प्रकाशन गर्ने र पुरस्कार वितरण गर्ने कार्यलाई समेत निरन्तरता दिदै आएका छन् ।

चितवन साहित्य परिषद्का सचिव बालकृष्ण थपलिया यस क्षेत्रमा साहित्यप्रतिको रुचि निकै बढ्दै गएको बताउछन् । सार्वजनिक बिदाका दिनमा गरिने साहित्यीक कार्यक्रममा पुराना, नयाँ साहित्यनुरागीको सहभागीता पनि बढ्दै गएको उनको भनाई छ ।

पुस्तक विमोचन, अन्तक्रिया, एकल एवम् सामूहिक रचनावाचनजस्ता कार्यक्रम यहाँ नियमीत रुपमा हुने गर्छन् । थपलियाले साहित्य प्रतिको रुचि बढ्नु, पठन संस्कृतिको विकास हुनु, राम्रा राम्रा लेखरचनाको क्रम बढेकोले पनि यस सम्बन्धी क्रियाकलाप बढ्नमा सहयोग पुगेको धारणा राख्छन् ।

अधिकांश लेखक तथा साहित्यकारहरु प्रध्यापन, शिक्षण, निजामती, स्थानीय तह, पत्रकारिता लगायतका क्षेत्रमा आवद्ध भएकाले सबैले बिदाको दिनको सदुपयोग गरी फुर्सदको समयलाई साहित्यको विकासमा लगाउने गरेका छन् । जिल्लामा खुलेका रेडियो र पत्रपत्रिकाका कारण पनि साहित्यिक गतिविधि बढाउन टेवा पुग्ने गरेको बताइन्छ ।

कबिडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री पाठकको अभिरुचि बढ्दै जानु, राष्ट्रिय र स्थानीय तहमा पुरस्कार र सम्मानको व्यवस्था गरिएका कारण यससम्बन्धी कार्यक्रम बढेको धारणा राख्छन् ।

जिल्लाकै युवा साहित्यकार अमर न्यौपानेले मदन पुरस्कार पाउनुले पनि जिल्लामा साहित्यीक गतिविधि बढाउन प्रोत्साहन मिलेको उनको भनाइ छ । न्यौपानेको सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी जस्ता राम्रा र पठनीय कृति बजारमा आएपछि पनि यहाँका साहित्यकारले सकेसम्म उत्कृष्ट कृति प्रकाशन गर्न प्रोत्साहन मिलेको क्षेत्रीको ठम्याइ छ ।

क्याम्पस पढ्ने विद्यार्थीदेखि व्यवसाय र रोजगारीमा लागेका युवा पुस्ता साहित्य क्षेत्रमा क्रियाशील रहेको पाइन्छ । पुराना साहित्यकार प्रेम विनोद नन्दन विद्यालय, महाविद्यालय खुलेसँगै शैक्षिक क्षेत्रको विकासले भाषा साहित्यप्रति उत्सुकता जगाउँदा साहित्यीक गतिविधि बढेको बताउछन् ।

“ रेडियो, पत्रिकाको बढोत्तरीसँगै साहित्यकारका लेख रचनाको प्रचारप्रसार हुने र लेखन कार्यलाई उत्प्रेरित गरेको छ,” साहित्यकार नन्दनको भनाइ छ ।

विसं २०१९ मा तनहँुको बन्दिपुरबाट चितवन झर्नु भएका साहित्यकार नन्दनले विगतलाई सम्झदै भने “२०२० तिर भानु जयन्तीका अवसरमा साहित्यमा रुचि राख्ने नभेटिएपछि म र बामदेब पण्डित भएर एक आपसमा कविता सुनाएर जयन्ती मनायौं ।” अहिले साहित्यिक गतिविधि, प्रकाशन र रचनावाचन जस्ता गतिवधिसँगै साहित्यप्रतिको रुचि बढेकोमा उनले खुशी प्रकट गर्नुभयो ।

साहित्यकार भूपिन देशकै मध्यभागको चितवन जिल्लाभित्र मात्र नभई र बाहिरबाट समेत साहित्यकार आएर कार्यक्रम गर्ने गरेको बताउछन् ।

“लेखक साहित्यकारको संख्या बढ्नु, प्रकाशित कृति र रचनाको राम्रो समीक्षा हुनु तथा गोष्ठि, रचनावाचन जस्ता क्रियाकलापले यहाँको साहित्यिक चर्चा अन्यत्र पनि फैलदै गएको छ,” साहित्यकार भूपिन भन्छन् ।