साहित्य

दुई लेखकका एकैपटक नौ कृति विमोचित

काठमाडौँ । राजधानीमा आज दुई लेखकका एकैपटक नौ कृति विमोचन भएका छन् । साहित्यकार हरि खनालका क्रमशः परावर्तन (लघुकथा), स्याल, लोटा, गीत गाउने सन्दुक, र काफल पाक्यो (बालकथा) शैरन्दी (नाटक संग्रह), पौराणिक अमर प्रेम (धार्मिक कथा) र साहित्यकार तथा जनमत मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक मोहन दुवालका जनमतको यो यात्रा (खण्ड–२) जनमतको सडकमा घामसँग (खण्ड–३) लोकापर्ण भएका हुन् ।

कृतिको साहित्यकार एवं पूर्वमन्त्री दीनानाथ शर्मा, प्रा डा सुषमा आचार्य, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्रा डा रामचन्द्र लम्साल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, बुलु मुकारुङ, डा रामप्रसाद ज्ञवाली, र भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

सार्वजनिक भएका साहित्यकार मोहन दुवालका दुई कृतिका सम्बन्धमा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरेले र साहित्यकार हरि खनालका सात कृतिका सम्बन्धमा श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, बुलु मुकारुङ, प्रा डा रामचन्द्र लम्सालले प्रकाश पारेका थिए ।

जनमत प्रकाशन नेपाल, भुँडीपुराण प्रकाशन प्रा.लि. र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा पूर्वमन्त्री दीनानाथ शर्माले साहित्य, कला र धर्मसंस्कृतिको रक्षाबाट मुलुकको समृद्धि हुने बताए ।