समाचार

केपी ओली जस्ता विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैनः राष्ट्रकवि घिमिरे

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

आज अपराह्न उनको लैनचौरस्थित निवासमा भेटेर उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्योपचारको चिन्ता नलिन तथा त्यसमा सरकारको साथ र सहयोग रहनेमा राष्ट्रकविलाई आश्वस्त पार्दै आफ्ना दुई संस्मरणात्मक कृति ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ उपहार दिए । उनले राष्ट्रकविको सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गरे ।

“केपी ओली जस्ता विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैन,” नेपाली सेनाका मानार्थ सहायकरथी राष्ट्रकविले आफ्नो स्वास्थ्योपचारको व्यवस्था मिलाएकामा आभार प्रकट गर्दै भने । आन्द्रासम्बन्धी रोगबाट पीडित राष्ट्रकवि नेपाल सरकारको खर्चमा नयाँदिल्लीमा उपचार गराएपछि आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

आजै उपप्रधानमन्त्री पोखरेलले वामपन्थी नेता पद्मरत्न तुलाधरलाई उहाँको लाजिम्पाटस्थित निवासमा भेटे । खुट्टामा उत्पन्न समस्याका कारण हाल उनी हिँडडुल गर्न असमर्थ छन् ।