साहित्य

निहारिका र ज्ञानमणिलाई सम्मान र पुरस्कार

काठमाडौँ । नेपाल स्रष्टा समाजले योगमाया न्यौपानेको स्मृतिमा स्थापित पुरस्कारबाट दुई स्रष्टालाई पुरस्कृत तथा एक जनालाई सम्मान गरेको छ ।

नेपाली साहित्य, इतिहास र संस्कृतिको प्रवद्र्धन र विकासमा योगदान पु¥याउने इतिहासविद् ज्ञानमणि नेपाललाई ‘योगमाया अभियन्ता राष्ट्रिय सम्मान– २०७५’ र साहित्यकार नीलम कार्की ‘निहारिका’ लाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७४’ बाट पुरस्कृत गरिएको हो ।

पुरस्कृतमध्ये नेपाललाई रु २० हजार १११ र निहारिकालाई रु २५ हजार १११ नगदसहित प्रशंसापत्र रहेको छ । यस्तै सामाजिक अभियन्ता हिरण्यप्रसाद भण्डारीलाई ‘योगमाया विशेष सम्मान’ प्रदान गरिएको छ ।

विसं १९८९ मा सिक्तेल भोजपुरमा जन्मिएका नेपालले संस्कृत विषयमा मध्यमा र नेपालको इतिहासमा विशेष दक्षता हासिल गरेका छन् ।

यस्तै विसं २०३१ मा गोठादी पाल्पामा जन्मनुभएकी निहारिकाले साहित्यका क्षेत्रमा उल्लेख्य योगदान गरेका छन् । भण्डारीले योगमायाको सान्निध्य पाई उनीसँगै भोजपुरको मझुवाबेंसीमा साधना गर्नुका साथै विभिन्न सामाजिक कार्यमा संलग्न छन् ।

आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार वितरण गर्दै योगमायाले महिला सशक्तीकरणका क्षेत्रमा गरेको योगदानको प्रंशसा गरे ।

तत्कालीन समाजमा निरंकुशताविरुद्धको संघर्ष गरेर समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकाले योगमायालाई राज्यले सम्मान गर्नुपर्नेमा उनले जोड दिए ।

योगमाया सामाजिक आन्दोलन अभियानका संयोजक जयन्ती राईले अहिले पनि समाजमा जातीय, क्षेत्रीय र सांस्कृतिक विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

समाजका अध्यक्ष पवन आलोकले योगमायाको अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले समाजले स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ भने ।

पुरस्कृतद्वय नेपाल र निहारिकाले सामाजिक कुप्रथाविरुद्ध महिला सशक्तीकरणमा योगमायाको योगदानको व्याख्या गरेका थियो ।

न्यौपाने बन्धु सेवा समाजका अध्यक्ष दयाकृष्ण न्यौपानेले योगमायाका विषयमा थप खोज तथा अनुसन्धान गरिनुपर्ने धारणा व्यक्त गरे ।

विसं १९२५ मा भोजपुरको नेपालेडाँड–सिम्लेमा जन्मनुभएकी योगमायाले सामाजिक कुरीति र बेथितिका विरुद्ध विद्रोह गरेका थिए ।

उनले विसं १९९८ असार २२ गते तत्कालीन निरंकुश राणा शासनका विरुद्ध आफ्ना ६८ अनुयायी शिष्यसहित अरुण नदीमा समाधि लिएका थिए ।