स्वास्थ्य

चिकित्सा शिक्षा विधेयक संसदमा छलफल हुन्छः मत्री बस्नेत

धनकुटा । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चिकित्सा शिक्षा विधेयक संसदमा पेश भई छलफल हुने बताएका छन् । चालीसौँ पुस्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी धनकुटाले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाल कम्युनिस्ट पार्टीले गरेका हरेक निर्णयदेखि डराएर प्रतिपक्ष गैरजिम्मेवार भई डा गोविन्द केसीलाई बोकेर हिंडेको कारण विधेयक पारित हुन नसकेको हो भने ।

उनले संवैधानिक व्यवस्थाअनुसार संसदमा विधेयक ल्याएर पारित गरिने भएकाले चिकित्सा शिक्षा मात्र होइन, समग्र शैक्षिक सुधार, आर्थिक सुधार एवं समाज परिवर्तनका निमित्त विभिन्न विधेयक पारित हुने बताए ।

हजारौंको बलिदानबाट प्राप्त परिवर्तन संस्थागत गर्न प्रतिपक्षमा रहेको काँग्रेस जिम्मेवार भएर छलफलमा आउन सुझाव दिए ।

कानूनी राज्यको रुपमा मुलुक परिवर्तन गर्न प्रशासनिक पुनःसंरचनाको आवश्यकता रहेको भन्दै मन्त्री बस्नेतले कानूनविहीनताको अवस्था रहन नदिन आगामी असोजसम्ममा मौलिक अधिकारसम्बन्धी सबै कानून निर्माण गरिने बताए ।

मन्त्री बस्नेतले मुलुकमा अविकसित आर्थिक प्रणाली, परम्परागत संस्कृति भएको अवस्थामा विकसित राजनीतिबीच तालमेल नभएर अन्तरविरोधको अवस्थामा मुलुक अगाडि बढ्न नसकेको बताए ।

सरकार अहिले गोविन्द केसीको मुद्दाभन्दा पनि बजेट कार्यान्वयन, कानून निर्माण र आर्थिक समृद्धिका लागि योजना बनाउन व्यस्त रहेको मन्त्री बस्नेतको भनाइ थियो ।