मनोरञ्जन

जति माया गरे पनि जति कसम खाए पनिका गायक अरुणको संझना

काठमाडौँ । ‘करोडौँ मुटुहरुको ढुकढुकी नेपाल…’ जस्ता अमर गीतका गायक स्वर्गीय अरुण थापामगरको उचित सम्मान हुन नसकेको शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताले बताए ।

नेपाली सांगीतिक क्षेत्रका चम्किला नक्षत्र स्व अरुणको १९ औँ स्मृति दिवसको अवसरमा अरुण स्मृति संगीत पुरस्कार–२०७४ वितरण समारोहमा उनीहरुले स्व अरुणको स्मृति दिवस मनाउन सरकारले कुनै चासो नदिएको गुनासो गर्दै मगर विद्यार्थीले आफ्नो गोजीको पैसा संकलन गरेर विसं २०६१ देखि उनको स्मृति दिवस मनाउँदै आएको बताए ।

विसं २००९ साल माघ ११ गते भारतको कलकत्तामा जन्मएका स्व थापाको पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनका बेलादेखि सांगीतिक क्षेत्रमा झुकाव बढ्दै गएको थियो ।

विसं २०२८ मा ‘…जति माया गरे पनि जति कसम खाए पनि …’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएपछि अरुणको चर्चा चुलिन शुरु भएको हो ।

विभिन्न देशभक्तिपूर्ण गीतले उनलाई साच्चिनै अमर बनायो भने ‘ऋतुहरुमा तिमी….’,तथा ‘साँझको जुनसँगै आउँछ तिमी भनेर…’ जस्ता १५० भन्दा बढी कर्णप्रिय गीतले उनलाई विर्सनै नसकिने स्रोताको ढुकढुकी बनायो ।

विसं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरको रोगबाट उनको अल्पायुमै असामयिक निधन भयो । कार्यक्रममा नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढामगरले लोकप्रिय गायिका धनकुमारी थापामगरलाई नेपाली गीत संगीत क्षेत्रमा योगदान गरेको भन्दै अरुण स्मृति संगीत पुरस्कार–२०७४ बाट सम्मान गरे । पुरस्कारको राशी रु १० हजार नगद तथा प्रमाणपत्र रहेको छ ।

त्यस अवसरमा बूढामगरले नेपालको सांगीतिक क्षेत्रको विकासमा मगर समुदायको विशिष्ट योगदान रहेको बताए मगरात क्षेत्र मगर जातिको मात्र नभई देशको नै पहिचान हो भने ।

पुरस्कृत व्यक्तित्व धनकुमारी थापामगरले संगीत क्षेत्रको सफलताका लागि परिश्रम, लगाव तथा मेहनतको खाँचो रहेको औँल्याए मगरजातिको छुट्टै वेषभूषा नेपालको गौरव हो भने ।

गलकोट नगरपालिकाका उपप्रमुख रेणुका थापामगरले स्व अरुण नेपालको सांगीतिक क्षेत्रमा उदाउँदो नक्षत्र भएको र उनले सांगीतिक क्षेत्रमा दिएको योगदान विर्सन हुँदैन भने ।