साहित्य

‘सेतो सुनखानी’ बजारमा

काठमाडौँ । स्रष्टाको सिर्जनामा पाठक रमाउन पाउँदा नै सिर्जनाको सार्थकता हुन्छ, लेखकीय चाहना पूरा हुन्छ ।

नेपाली पद्य लेखनमा पछिल्लो समय सार्वजानिकत्व भन्दा निजत्व बढी रहेको सन्र्दभमा कवि शम्भु अर्यालले वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा फरक शैलीमा आफ्नो पहिलो कविता सङ्ग्रह सार्वजनिक गरेका छन् ।

‘सेतो सुनखानी’ नामक कविता सङ्ग्रहभित्र विभिन्न शीर्षकका ४१ वटा कविता समेटिएका छन् । स्याङ्जाली कवि अर्यालका ती कविताले प्रवास, देश र निजी कुण्ठालाई केन्द्रबिन्दुमा राखेको छ ।

जीवन, जगत्लाई नजिकबाट नियाल्न सक्दा परिपक्व सिर्जना हुन्छ, त्यो पठनीय पनि हुन्छ, सर्वग्राह्य हुन्छ । ठूलाठूला आशाका सपना लिएर खाडीका देश पुगेको तर स्वदेश फर्कदा निराशा एवं कुण्ठा बोकेर आउनुपरेको पीडालाई कविले जीवन्त रुपमा कवितामा सूत्रबद्ध रुपमा उनेका छन् ।

कवि पौडेलले जन्मस्थलमा आत्मीयता, सहृदयता हराउँदै गई हरेक विषयमा चरम राजनीतिकरण भएकोमा रोस पोख्दै राजनीतिले पारेका प्रभावलाई प्रहार समेत गरेका छन् ।

वरिष्ठ गद्य स्रष्टा बैरागी काइँलाले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजानिकीकरण गर्दै नमिलेको जीवन र जगत्लाई कविताले चट्ट मिलाउन सक्छ भने ।

उनले भने “साहित्यिक विधाहरूमा परिपक्व लेखन हराउँदै जान थाल्यो, आज एउटा रचना ग¥यो, भोलि प्रसिद्धिको चुचेरोमा पुगिहाल्छु भन्ने महत्वाकाङ्क्षा बढ्दै गयो ।”

“मैले जे देखेँ, जे भोगे त्यही पोखेँ, अब मूल्याङ्कन गर्ने काम पाठकको हो” कविता सङ्ग्रहका रचनाकार अर्यालले भने ।

रेडियोकर्मी एवं समालोचक डा नवराज लम्साल पछिल्लो समय नेपाली पद्यमा वर्णनात्मक, विवरणात्मक र वयानात्मक भन्दा पर जान नसकेकामा चिन्ता व्यक्त गर्दै यस प्रवृत्तिलाई कवि अर्यालका कृतिले छिमल्ने विश्वास व्यक्त गरे ।

समालोचक एवं अनुवादक महेश पौडेलले पुस्तकमा संग्रहित कवि अर्यालका ४१ वटा कविताले समाजको यथार्य चित्रणमा अब्बल हस्तक्षेप गरेको टिप्णणी गरे ।