कृषि

विरोधमा दूध पोखेर प्रदर्शन

चितवन । दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था ९डिडिसी० र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ ।

राप्ती नगरपालिकाको दुग्ध उत्पादक सहकारी संस्था नगर समन्वय समितिका अध्यक्ष डिल्लीप्रसाद थपलियाले लागत मूल्य नपाइरहेको अवस्थामा विभिन्न बहाना बनाएर दूधको मूल्य घटाएकाले बाध्य भएर दूध पोख्नुपरेको दुखेसो गरे ।

मूल्य घटाएको विरोधमा सांकेतिक रुपमा शुक्रबार किसानले यहाँको सडकमा २४० लिटर दूध पोखेका थिए । किसानका समस्यामा ध्यान नदिए कडा आन्दोलन गर्नेसमेत किसानले बताएका छन् ।

उनका अनुसार राप्तीमा रहेका छ वटा सहकारीले सामूहिक रुपमा दूध सडकमा पोखेका हुन् । यहाँ भण्डारा, परेवाश्वरी, शहीद बलराम, भगवती, नवउद्यमी र जनमुखी दुग्ध उत्पादक सहकारी संघले दूध संकलन गरेर डेरी उद्योगलाई पठाउँदै आएको छ ।

कुनै छलफल नै नगरी किसानलाई मार पार्ने गरी दूधमा रु तीन प्रतिलिटरका दरले मूल्य घटाएको किसानले आरोप लगाएका छन् । यसअघि पनि निजी डेरीले करीब रु दुई दूधको मूल्य घटाएका थिए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले सस्तोमा पाउडर दूध आयात गरेकाले यसरी किसानको दूधमा मूल्य घटाएको आरोप लगाए ।

अहिले दूधबाट पाउडर बनाउनुपर्ने अवस्था सिर्जना भएकाले बाध्य भएर दूधको मूल्य घटाउनुपरेको डिडिसीले प्रतिक्रिया दिएको भन्दै उप्रेतीले त्यो भनाइ सही नभएको दाबी गरे ।

यो विषयमा आगामी साउन ८ गते बैठक बोलाइएकाले त्यसको निर्णयानुसार मन्त्रालयमा डेलिगेसनलगायत आन्दोलनका कार्यक्रम गरिने उप्रेती बताउछन् । यहाँ व्यावसायिक रुपमा पशुपालन गर्ने किसानले भने दूधको लागतसमेत उठाउन नसकेको बताउँदै आएका छन् ।