आर्थिक

यसरी भयो पूँजीगत खर्च ६९ प्रतिशत

ज्ञानेन्द्र न्यौपाने /रसुवा । गत आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयमा पूँजीगत खर्च विवरण सार्वजनिक भएको छ ।

प्रमुख कोष नियन्त्रक दीपक लामिछानेका अनुसार जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, वन, भूसंरक्षण, लाङटाङ राष्ट्रिय निकुञ्ज, आयुर्वेद, मालपोत, नापी, भन्सार, प्रहरीलगायत कार्यालयमा आव २०७४/७५ को एक वर्षमा चालू शीर्षकमा रु तीन अर्ब ९७ करोड ६९ लाख ६१ हजार ४७ अर्थात् करीब ९१ प्रतिशत खर्च भएको छ । सो शीर्षकमा रु चार अर्ब ३६ करोड ५० लाख ८७ हजार १९१ र पैसा ५८ विनियोजन भएको थियो ।

पूँजीगततर्फ भने रु ६८ करोड ५९ लाख चार हजार ६१ विनियोजन भएकामा रु ४७ करोड ६० लाख ४७ हजार ४६२ अर्थात् करीब ६९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । विनियोजित रकममध्ये खर्च नभई दुई शीर्षकअन्तर्गत बाँकी रहेको ५९ करोड ७९ लाख ८२ हजार ७४१ र पैसा ८९ फ्रिज भई संचित कोषमा फिर्ता गएको बताइएको छ ।

राजस्वतर्फ सबैभन्दा बढी आर्जन गर्ने भन्सार कार्यालय भएको छ । समग्रमा जिल्ला प्रशासन, अध्यागमन, निकुञ्ज, नापी, मालपोत, प्रहरीसमेतका निकायबाट रु चार अर्ब ७८ करोड ८८ लाख ८१७ र पैसा ८७ राजस्वमा जम्मा भएको अभिलेखकर्ता यमुना खनालले बताए ।

यस्तै राजस्व असुलीमा रसुवा भन्सार कार्यालय टिमुरे विगतको तु्लनामा गत वर्ष दोब्बर राजस्व आर्जन गर्न सफल भएको छ । विगत आवमा रु दुई अर्ब ४२ करोड ३८ लाख राजस्व असुली भएकामा गत आवमा रु चार अर्ब ५९ करोड २३ लाख राजस्व असुली भई विगतको तुलनामा गत वर्ष वार्षिक लक्ष्यभन्दा १२७ प्रतिशतले बढी प्रगति हासिल गर्न सफल भएको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

चीनबाट बढी मात्रामा तयारी पोशाक, बेरिएको कपडा, इलेक्ट्रिकल सामान, जुत्ताचप्पललगायत सामग्री आयात र नेपालबाट मैदा, खुर्सानी, चाउचाउ, बिस्कुटलगायत सामान निर्यात भइरहेको बताइएको छ । वर्षायाम भए पनि नेपाल चीनबीचको उत्तरी नाका निर्बाध रुपले सञ्चालन भइरहेको छ । भन्सार जाँचपासका लागि २० भन्दा बढी जाँचकी परिचालन भई सामान आयात निर्यातको परीक्षण छिटोछरितो भएको कोइरालाले बताए ।