मनोरञ्जन

भोलाराज सापकोटाले थियटर देखि आफ्नो यात्रा शुरु गरेका थिए……

भक्तपुर। भोलाराज सापकोटा कलाकारीता क्षेत्रमा कुनै नौलो नाम होइन। थियटर देखि उनले आफ्नो यात्रा शुरु गरेका थिए र उनी फिल्मको पर्दामा सम्म पुग्न सफल भए।

सिन्धुपाल्चोकबाट उनका हजुरबा मकवानपुरको हेटौंडा बसाईं सरेका रहेछन्। त्यसैले उनको बाल्यकाल हेटौडामा नै बित्यो। एसएलसी सकेर उनी काठमाडौँ आएका थिए। हाल उनी आफ्नो स–परिवारसँग धापासीमा बस्ने गर्छन्।

उनका बुबाआमा जन्मजातै बोल्न नसक्ने थिए। यद्दपि उनलाई मायाममतामाको भने कुनै कमि महसुस भएन। दुई सन्तान मध्य उनी कान्छा छोरा भएकाले पनि उनी सबैको आँखाको नानी बने। उमेरले केही वर्ष मात्र फरक भएकाले उत्रै सन्तानलाई रेखदेख गर्न भाषाका कारण उनका बाआमालाई गाह्रो भएपछि उनीहरुलाई हजुरबा र हजुरआमाले हुर्काएका हुन्।

भोलाले विद्यालयमा भएका नाटकमा पनि सानोतिनो भुमिका गर्ने गर्थे । सात कक्षामा पढ्दा उनले ‘मुर्ख बिरामी’ भन्ने नाटकमा झाँक्रीको भूमिका पाए । उनले गरेको झाँक्रीको अभिनयलाई सबैले मन पराए ।

नेपाल टेलिभिजनमा सिरियलमा खेल्न भनेर आठ कक्षामा पढ्दै गरेका भोला एक्लै काठमाडौं आएका थिए। ‘ट्वाक्क टुक्क’ चलाइरहेका दिनेश डिसीलाई भेटेर कुरा राखे । डिसीले ‘एसएलसी सकेर आउनु है भाइ’ भने। उनी तरकारी बोकेर काठमाडौं आएका गाँउले दाइको ट्रक चढेर हेटौडा फर्किए।

एसएलसी पछि उनले हेटौंडाबाटै रंग लगाउने काम र कुकको तालिम लिए । अरुका घरमा रंग लगाउने कामसँगै तरंग साँस्कृतिक समुहसँग मिलेर रंगकर्म पनि गरिरहे । बिहान कलेज जाने र दिउँसो नाटक गर्ने उनको दिनचर्या लगभग एक वर्ष चल्यो ।

तरंगबाट नाटक गर्दैगर्दा उनले गोरखापत्रमा राष्ट्रिय नाचघरमा अभिनयको कोर्स सुरु हुन लागेको सुचना देखे । ‘अभिनय पनि सिक्ने कुरा हो ?’ भन्दै बसिरहेका उनलाई ‘एकपल्ट जाउँ न त के हुन्छ ?’ भन्ने मनसायले २०५४ सालमा फेरी काठमाडौं ल्याइपुर्‍यायो । नाचघरमा उनले अभिनयको एक वर्षे कोर्स गरे । उनले सो समयमा रामशरण दुलालसँग ‘मामा भाञ्जा’ जोडी बनाएर ठाउँठाउँमा हाँस्य प्रहसन गरे ।

२०५८ सालमा आरोहण गुरुकुलले बत्तिसपुतलीमा नेपालमै पहिलोपटक नाट्यविद्यालय तथा नियमित नाटक मञ्चनका लागि ‘प्रोसेनियम थिएटर’ खोलेपछि भोलाको नाट्य यात्राले नयाँ मोड लियो । भोला गुरुकुलको पहिलो ब्याचको विद्यार्थी बने ।

नाटक सिक्नेले गुरुकुलकै होस्टलमा बस्नुपर्ने, दुई वर्षको कोर्स नसकी बाहिर निस्कन नपाइने, बाहिरका रंग गतिविधिमा भाग लिन नपाइने, नाटकको समयतालिका मान्नुपर्ने लगायतका नियमलाई अक्षरशस् पालना गर्दै नाटक सिकेका भोलाले गुरुकुलमा एक दशक बिताए । एक दशकको अवधिमा उनले करिब तीन दर्जन नाटकमा अभिनय र आधा दर्जन नाटक निर्देशन गरे । डेढ सयको हाराहारीमा सडक नाटक र कचहरी नाटक गरे । कुरुप हाँस, आरुका फुलका सपना, मायादेवीको सपना, जात सोध्नु जोगीको लगायत दर्जनौ उनका चलेका नाटक हुन् ।

ती मध्ये नाटकमा ‘कुरुप हाँस’मा काम गर्दा उनलाई सबैभन्दा मज्जा आयो । त्यस नाटकको चरित्रले अहिले पनि आफूलाई छुने उनी बताउँछन् । सुरुमा हाँस्यतिर झुकाव राख्ने भोला सबैखाले चरित्र गर्न आफूलाई अभ्यस्त बनाए । सो समयमा भोलाले विभिन्न पत्रपत्रिकामा नाटकमा विभिन्न समयअनुसार चरित्रको उदय र विलयका बारेमा पनि लेखे ।

उनी गुरुकुलको नाट्य परिवेशतिर फर्केर अहिलेको रंगमञ्चलाई नियाल्दा गुरुकुलको नाट्यशैलीलाई विशिष्ट मान्छन् । देशविदेशबाट आएका गुरुहरुबाट सिक्न पाइने र सँगै नाटक पनि गर्न पाइने, अध्ययन र अभ्यास गर्नैपर्ने लगायतका नियमहरुले भोलाले आफ्नो रंगशिल्पले तिखारिने ठाँउ पाएको बताउँछन् ।

गुरुकुल रहँदै उनले ‘सानो संसार’ (फिल्म), केही डकुमेन्ट्री र नेपाल टेलिभिजनबाट प्रसारण हुने केही सिरियल खेले ।

गुरुकुलमा सधैं नाटक हेर्न आइरहने प्रशान्त रसाईंलीले उनलाई बलिउडको ढोका देखाइदिए । सबैखाले चरित्रलाई न्याय दिन सक्ने गुण भएका कारण बलिउड फिल्म ‘बर्फी’ को कथा दार्जिलिङको भएको र मुख्य पात्रको साथीको भुमिकामा राम्रो अभिनय गर्न सक्ने नेपाली अनुहार चाहिएको खबर प्रशान्तले सुनेपछि भोलालाई अडिसनका लागि कलकत्ता जान सुझाएका थिए ।

अडिसनको पहिलो चरणमा, आफूले गरेको जुनसुकै भुमिका भएपनि देखाउनुपर्ने, दोस्रोमा, परिस्थिति दिएर ‘इम्प्रोभाइज’ गर्नुपर्ने र तेस्रोमा, स्क्रिनटेष्टको अडिसन गरी तीन चरणको अडिसन दिँदै बलिउड फिल्म बर्फिका लागि छानिए ।

बर्फिमा उनको भुमिका बलिउड अभिनेता रणविर कपुरले निभाएको नबोल्ने पात्रलाई सहयोग गर्नुपर्ने भूमिका छ । आफू पनि नबोल्ने परिवारमा हुर्केकाले पनि उनलाई उक्त भुमिका गर्न सहज भयो । बर्फीमा उनले गरेको भूमिकाको राम्रै चर्चा भयो । बलिउडमा काम गरेपछि भोलामा केही सोच परिवर्तन भयो । आफूले काम गरिरहँदा अन्ततिर ध्यान दिनुहुँदैन भन्ने सिके।

उनले आफ्नै ढंगले काम गर्ने सोचले मणिराम पोखरेल, कमलमणी नेपालसँग मिलेर ‘बार्दली नाटक समुह’ खोले । चर्चाका पछि खासै नलाग्ने भोलाले यसबीचमा केही म्युजिक भिडियो, टेलिभिजन श्रृंखला, रेडियो नाटक, नाटक लगायतमा काम गरे । बादर्लीबाट कचहरी नाटक लिएर गाउँगाउँ पुगे । सानैदेखि गीत गाउनमा पनि सोख भएकोले गुपचुप दुईवटा गीत पनि रेकर्ड गरेका छन् ।