प्रदेश 1

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

मंगलबारे, इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।

नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए ।

नगर प्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको, कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरेका छन् ।

राइले भने, “यो विद्यालयमा राखिएको यो प्रविधि नेपालकै पहिलो हो ।” अन्य संघ संस्थामा यो प्रविधि जडान भए पनि सामुदायिक विद्यालयमा राखिएको बायोमेष्ट्रिक हाजीरी पहिलो भएको उनको तर्क छ ।
नगरका तीनवटा विद्यालयमा सो प्रविधि शुरु गरिएको छ । नगरपालिकाका फिक्कल मावि, कृष्णाश्रम मावि र करफोक माविमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको छ ।

सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न शुरु गरिएको नगरपालिकाले जनाएको छ । शिक्षक विद्यालय आए पनि पूरा समय विद्यालय नबस्ने भएपछि विद्यालय आइसकेपछि शुरुमा र विद्यालय छुट्टी भइसकेपछि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाइएको छ ।

सूर्योदय नगरपालिकामा १५ वटा माध्यमिक विद्यालय छन् । पहिलो चरणमा तीन वटा विद्यालयमा राखिएको हाजिरी मेसिन प्रभावकारी भएपछि दोस्रोचरणमा अन्य विद्यालयमा सो प्रविधि राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा तीनवटा विद्यालय र दुईवटा प्राथमिक स्वास्थ्य केन्दमा सो प्रविधि राखिएको छ । सूर्योदय नगरपालिकाभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र प्राथमिक स्वास्थ्य केन्द्र पशुपति नगरमा यो प्रविधि सञ्चालनमा ल्याइएको छ ।

विद्यालय र प्राथमिक स्वास्थ्य स्कुलमै राखिएको डिजिटल मेसिनमा शिक्षक र स्वास्थ्यकर्मीले हातका औंठाले छोएर हाजिर गरेको नगरपालिकामा रेकर्ड जाने गर्दछ । नगरपालिकाले त्यसका लागि छट्टै कम्प्युटरको व्यवस्था गरेको छ । नगरपालिकाका प्रमुख रणबहादुर राईले यो प्रविधि प्रभावकारी भएको भएको बताउँदै अझ अन्य विद्यालयमा थप गर्ने हौसला बढेको वताए।

एउटा विद्यालयमा रु २० देखि ३० हजारमा यो प्रविधि जडान गर्न सकिने बताइएको छ । यो प्रविधि खासै खर्चिलोसमेत नभएकाले सबै विद्यालय र कार्यालयमा थप्न सकिने प्रवक्ता लामाले बताए ।

नगरपालिकाले नगरका सबै घरको लगत सर्वेक्षणसमेत डिजिटल प्रविधिबाट नै गरेको छ । नगरवासीले नगरपालिकाले राखेको आफ्नो रेकर्ड घरमा बसीबसी हेर्न मिल्ने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।

नगरपालिकाभित्रका बासिन्दाको व्यक्तिगत विवरण एकीकृत सम्पत्ति करको रेकर्डलगायतको विवरण डिजिटल प्रणलीमार्फत नै गर्न शुरु गरिएको । यसै वर्षबाट एउटा विद्यालय छनोट गरेर बिहान ७ बजेबाट नै विद्यालय सञ्चालन हुने बताइएको छ ।

बेलुका समेत ६ बजेमात्र विद्यालय छुट्टी हुने भएकाले सबै शिक्षक र विद्यार्थीको खाना र खाजा खर्चसमेत विद्यालयले नै व्यहोर्ने बताइएको छ । पाइलोट प्रोजेक्टका रुपमा एउटा विद्यालय छनोट गरेर काम अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए।