समाचार

इन्जिनियरहरुलाई समृद्धिको संबाहक बन्न मन्त्री महासेठको आग्रह

काठमाडौं । नेपाली इन्जिनियरहरुको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले ५६ औं इन्जिनियर दिवसका उपलक्ष्यमा उत्कृष्ट इन्जिनियरहरुलाई सम्मानित गरेको छ ।

काठमाडौंकोे राष्ट्रिय सभागृहमा बिहिबार आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ई. रघुबीर महासेठले एशोसिएसनको सम्मान तथा पुरस्कार वितरण निर्णायक समितिले शिफारीस गरेका उत्कृष्ट युवा इन्जिनियरको सम्मान सागर श्रेष्ठ, उत्कृष्ट महिला इञ्जिनियरको सम्मान विन्दु श्रेष्ठ, शहिद नवराज विष्ट स्मृति पुरस्कार गंगाबहादुर बस्नेत र उद्यमसील इञ्जिनियर सम्मान स्वरुप कोने गुरुङ्लाई प्रदान गरे ।

त्यस्तै राष्ट्रिय विकासमा अमूल्य योगदान दिने संस्थाहरुलाई दिने सम्मानबाट यसबर्ष नेपाल सडक बोर्डका कार्यकारी निर्देशक ई.कृष्णबस्नेत सम्मानित भएका छन् ।

त्यस्तै यस बर्षको लाइफ टाइम एचिभमेन्ट एवार्डबाट ८१ बर्षीय वरिष्ठ इन्जिनियर नारायणदत्त शर्मालाई सम्मानित गरिएको छ ।

सम्मानित शर्माले नेपाल सरकारको सेवामा सडक विभागको महानिर्देशकबाट अवकाश प्राप्त गरेपछि विश्व बैंक र एशियाली विकास बैंकको सहयोगका विभिन्न आयोजनाहरुमा दक्षिण एशिया, दक्षिण पूर्वी एशियाका मुलुकहरुमा काम गरेका थिए ।

कार्यक्रममा एशोसियसनसंग सहकार्य गर्ने हामा स्टिल र पूर्वाधार विषयक टेलिभिजन कार्यक्रम सञ्चालक रामहरि कोइरालालाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि मन्त्री महासेठले एशोसिएसनले प्रकाशनमा ल्याएको अनुसन्धानमूलक टेक्निकल जर्नलको पनि विमोचन गरेका थिए । सो जर्नलमा इन्जिनियरिङ् क्षेत्रका विभिन्न विधाका २० वटा अनुसन्धानात्मक लेखहरु समाविष्ट गरिएको छ ।

समृद्धिका सम्बाहक बन्न महासेठको आग्रह

कार्यक्रमका प्रमुख अतिथि मन्त्री महासेठले नेपाल समृद्धिको यात्रा हिडिसकेकोले इञ्जिनियरहरुलाई यसको सम्बाह बन्न आग्रह गरे । उनले नेपाल इञ्जिनियर्स एशोसियसनसंग औपचारिक रुपमै सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउदै नेपाल सरकारका अत्यावश्यक क्षेत्रका इन्जिनियरिङका प्राविधिक काम एशोसिएसनबाट गराउन उपयुक्त हुने बताए ।

उनले नेपाली इन्जिनियरहरुको ज्ञान, सीप, अनुभव सबै बढ्दै गएको उल्लेख गर्दै नेपाली इन्जिनियरहरुले विदेशी इन्जिनियरहरुकै तुलनामा राम्रो काम गरिरहेको बताए ।

उनले विदेशी सहयोगमा सञ्चालित आयोजनाहरुमा सर्वेक्षण र विस्तृत आयोजना प्रविवेदन तयार गर्दा पनि स्थलगत अध्ययन र स्थानीयहरुसंगको परामर्शको कमीका कारण त्यस्ता सहयोगबाट सम्पन्न भएका आयोजनामा पनि केही कमजोरी देखिएको बताए । उनले विदेशी परामर्शदाता र नेपाली दुवै मिलेर काम गरेमा त्यस्ता समस्या नदोहोरिने बताए ।

मन्त्री महासेठले सार्वजनिक खरिद ऐनको कमी कमजोरी पहिल्याएर त्यसमा संशोधन गर्ने प्रयास पनि भैरहेको बताए । उनले निर्माण व्यवसायीको क्षमता, अनुभव, कार्यसम्पादनको स्तर हेरर ठेक्का पुरस्कृत गर्ने परम्परा बसाउन लागिएको पनि बताए ।

उनले नेपाली इन्जिनियरहरुले भौतिक संरचनाको निर्माण गर्दा आफ्नो मौलिक पहिचानलाई पनि ख्याल गर्नुपर्ने बताउदै कोशीमाथिको ४ किलोमिटर लामो पुल र मुग्लिनको पुल दुवै नेपाली कलात्मक शैलीमा निर्माण भैरहेको बताए ।

उनले मुलुकलाई समृद्धिको मार्गमा लैजान संघीयदेखि प्रादेशिक र स्थानीय तहमा पनि इन्जिनियरहरुको दरवन्दी अपुग रहेको बताए ।

कार्यक्रममा लाइफटाइम एचिभमेण्टबाट सम्मानित हुनुभएका वरिष्ठ इन्जिनियर नारायणदत्त शर्माले आयोजना राम्रोसंग तर्जुमा भएमा, ठेकेदारको क्षमता, कामको भार, विगतमा काम सम्पन्न गरेको अभिलेखका आधारमा मूल्यांकन गरी काम दिने परम्परा भएमा आयोजना निर्माणमा बिलम्ब हुने र कमजोर गुणस्तर देखिने जस्ता समस्याको समाधान हुने बताए ।

नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत महासचिव ई. उमेशप्रसाद थानीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष ई. उमाशंकर साहले गरेका थिए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले मुुुलुकलाई संमृद्धिको मार्गमा लैजान पूर्वाधार अत्यावश्यक हुने र पूर्वाधार निर्माणको लागि इन्जिनियरहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकोले इन्जिनियरहरुको उपलब्धतालाई भरपूर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए ।

अध्यक्ष श्रेष्ठले एशोसियसनलाई अझ बढी व्यवसायिक बनाउन र निर्वाचन पछिको कार्यसमितिलाई सबै इन्जिनियरको भावनालाई समेटेर काम गर्न सजिलो होस् भन्ने मनशायले विधान संशोधन गरि ५० जनाको सल्लाहकार समिति रहने व्यवस्था गरिएको बताए । उनले एशोसियसनको संरचना मुलुकको राज्य संरचना अनुरुप हुने गरी प्रादेशिक र स्थानीय तह शैलीको बनाइएको पनि जानकारी दिए ।

एशोसियनले आफ्नो ५६ औं बार्षिकोत्सवको अवसरमा साँझ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो ।