समाचार

गोविन्द केसी प्रकरणः सुरक्षाकर्मीद्धारा पत्रकारमाथि दुव्र्यवहार

काठमाडौँ । नेपाल पत्रकार महासंघले जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको अनशनको समर्थनमा भएको आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि सुरक्षाकर्मीबाट दुव्र्यवहार भएको जनाउँदै घटनाप्रति आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाउँदै घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न तथा पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

यसैबीच महासंघले महासंघका पूर्वमहासचिव उजिर मगर दुर्घटनामा परी गम्भीर घाइते भएकामा दुःख व्यक्त गर्दै मगरसहित दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ सबैको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बाग्लुङ सदरमुकामबाट बुतिवाङ जाँदै गरेको जीप साउन २ गते साँझ ६ः०० गलकोट नगरपालिका–९ रिघामा पल्टिँदा जीपमा सवार पत्रकार मगरसहित १४ यात्रु घाइते भएका थिए ।

दुर्घटनामा पत्रकार मगरको देब्रे हात भाँचिनाका साथै शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उहाँको गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचारपछि अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।